धादिङका बाम गठबन्धनका उम्मेदवार भोट माग्दै पोखरामा

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०७४

धादिङ कात्तिक १६ । जिल्ला बाहिरका मतदाता भेटघाटमा धादिङका बामगठबन्धनका नेताहरू सक्रिय छन् । आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जिल्लाका भन्दा बारिह रहेका मतदाता निर्णायक हुने भएकाले बामगठबन्धन उम्मेदवारहरुले बुधबार काठमाडौका मतदातालाई भेटे भने बिहिबार भेटघाट र भोट माग्न पोखरा पुगे ।

जिल्लाका वाम उम्मेदवार तथा नेताहरूलाई पोखरा ल्याउन नेकपा एमाले, धादिङ–पोखरा सम्पर्क मञ्च र माओवादी केन्द्र, धादिङ–पोखरा समन्वय समितिले संयुक्त चुनावीसभा कार्यक्रम आयोजना गरे । सभामा धादिङका चुनाव परिचालन समिति संयोजक एवं एमाले पोलिट्व्यूरो सदस्य गंगालाल तुलाधरले आशन्न चुनावमा जिल्ला फर्किन आग्रह गर्दै आफूहरू निम्तो दिन पोखरा आएको बताए । ‘तपाइँहरू अन्य समय आफ्नो काममा लाग्नुभो । अबका केही दिन चुनावमा लाग्नुस्,’उनले भने ।

उनले धादिङ वाम किल्ला भएको बताए । उनले पहिलो संविधानसभामा निर्वाचनमा माओवादी र दोस्रो संविधानसभा निर्वाचनमा एमालेले कब्जा गरेकाले अब वाम किल्ला भएको स्पष्ट पारे । उनले भने, ‘हिजोका दिनमा २ पार्टी भएर कब्जा ग¥र्यौं । अब संयुक्त रुपमै वाम किल्ला बनाउँदैछौं । यसमा कसैले चाहेर पनि रोक्न सक्दैनन् ।’ एमाले र माओवादीको चुनावी तालमेलले कांग्रेस लगायतका पार्टीमा ०७२ वैशाख १२ को भन्दा बढी भूकम्प गएको र कांग्रेसका नेताहरू अत्तालिएर बर्बराउन थालेको आरोप लगाए ।

नेता तुलाधरले पार्टी एकता नहुँदासम्म दुवै पार्टी मिलेर मुलुक हाँक्ने स्पष्ट पारे । उनले एमालेले माओवादी र माओवादीले एमालेको नीति अध्ययन गर्न आवश्यक रहेको र दुवै नीति फ्यूजन गरी नयाँ नीति र कार्यदिशासहित नयाँ पार्टी बनाउन लाग्नुपर्ने खाँचो औंल्याए । उनले दुवै पार्टी अब धेरै दिन छुट्टिएर बस्न नसक्ने ठोकुवा समेत गरे । उनले भने, ‘हामी भात खाँदा सँगै, सुत्दा पनि सँगै भइसकेकान छौं । माया असाध्यै लाग्न थालेको छ ।’

उनले कमजोर पार्टीको केन्द्रीय सदस्य बन्नुभन्दा ठूलो र शक्तिशाली पार्टीको जिम्मेवार कार्यकर्ता हुँदा निकै गर्व लाग्ने स्पष्ट पारे । उनले भने, ‘म एमालेको पोलिट्व्यूरो सदस्य हुँ । पार्टी एकीकरण भएपछि म पार्टीको जिम्मेवार कार्यकर्ता भइ चकटी र पिर्कामा बस्न तयार छु ।’
नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले वाम गठबन्धन चुनावी तालमेलसम्म नभइ पार्टी एकतासम्म पुगिसकेको बताए । उनले एकता नेता र कार्यकर्ताका लागि मात्र नभइ सिंगो मुलुकले नै आवश्यकता महसूस गरेको स्पष्ट पारे ।

पार्टी एकतामा शंका र संकीर्णता नराख्न आग्रह गर्दै नेता भण्डारीले भने, ‘अबको एकता एमाले माओवादी र माओवादी एमाले बन्न नभइ नयाँ पार्टी निर्माण गर्नका लागि हो ।’ वाम गठबन्धनका उम्मेदवारलाई जिताउन फौजी शैलीमा जिल्ला फर्कन उनले आग्रह गरे । धादिङ क्षेत्र नं. २, प्रतिनिधिसभा उम्मेदवार खेम लोहनीले स्थानीय तहको चुनावलाई हेर्दा ४५ प्रतिशत मत वाम गठवन्धनसँग रहेकाले आफूहरूको जित सुनिश्चित रहेको दावी गरे । मंसिरको धान थन्क्याउने चटारो जस्तै चुनावी चटारो रहेका्े भन्दै उनले अबका केही दिन चुनावमा खटिन र जिल्ला फर्किएर चुनावी माहोल बनाउन आग्रह गरे ।

प्रदेशसभा उम्मेदवार जगतबहादुर सिंखडाले मुलुकको समृद्धि र स्थायी शान्तिका लागि वाम गठवन्धन बनेको बताए । उनले अबको चुनाव वाम गठबन्धनले जितिसकेको तर घोषणा हुनमात्र बाँकी रहेको दावी गरे । उनले भने, ‘चुनाव हामीले जितिसकेका छौं । त्यसको परिणाम मंसिर २१ गतेपछिमात्र पाउनेछौं ।’ आफू सांसद बनेपछि बुढीगण्डकी परियोजना छिटो भन्दो छिटो अघि बढाउने र जिल्ला छाडेर अन्यत्र लागेकालाई जिल्ला फर्काउन पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

एमाले मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिसस सभापति जगन्नाथ नेपाल, धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडा, माओवादी समन्वय समितिका अध्यक्ष रेशम सिंखडा, मञ्चका निवर्तमान अध्यक्ष वेनी पाठक, सचिव योगप्रसाद सापकोटा लगायतले बोलेका थिए ।