नवराज गिरी
धादिङ झार्लाङ कात्तिक १६ । धादिङको खनियाबास गाउँपालिकाको वडा नम्बर २ झार्लाङ, कोखिममा जनचेतनामूलक सामुदायिक मेला सञ्चालन गरिएको छ ।
मानव बेचबिखनका विरुद्ध तथा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने सम्बन्धमा बुधबार खनियाबास गाउँपालिकाको समन्वय तथा एटविनको साझेदारी एवम् युनिसेफको आर्थिक सहयोगमा सिविस काठमाडौंले कार्यक्रमको संचालन भएको हो ।
‘मानव बेचबिखन विरुद्धमा विवेकी बुबा’ शीर्षकमा कचहरी नाटक, कर्तव्य बिहिन यात्रामा बालबालिका नामक भिडियो, बाल यौन दुर्व्यबहार विरुद्ध वास्तविक घटनामा आधारित मिनाको कथा र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने सम्बन्धि लोकगीत प्रस्तुत गरिएको थियो । खनियाबास गाउँपालिका वडा नम्बर एक का वडा अध्यक्ष बुद्धिबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा खनियाबास गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष टेकबहादुर तामङको विशेष आतिथ्यता रहेको थियो ।
जनचेतनामूलक सामुदायिक मेलामा खनियाबास गाउँपालिका वडा नम्बर एक र दुई का वडा सदस्यहरु तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सिविसका जिल्ला परियोजना संयोजक संतोष सत्यालको अध्यक्षता रहेको सो कार्यक्रममा शंकर तामाङ र सुनिता तामाङले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । जनचेतनामूलक सामुदायिक मेलामा दुर्घटना र ब्यक्तिगत समस्याको कारण विशेषगरी वैदेशिक रोजगारीमा गएर दुःख पाएर फर्केका महिला दिदी बहिनीहरुलाई मनोसामाजिक परामर्श कर्ता राजन दुवाडी, राधिका सिलवाल र शम्भु गुरुङले मनोसामाजिक परामर्श प्रदान गर्नु भएको थियो ।
मनोसामाजिक परामर्शमा प्रत्यक्ष रुपमा भाग लिएका खनियाबास गाउँपालिका वडा नम्बर एक र दुईका २० जना सहभागी महिला दिदी बहिनीहरु मध्ये ३ जनालाई मेडिसिन सहितको परामर्श आवश्यक देखिएको परामर्श कर्ता राजन दुवाडीले जानकारी दिनुभयो । करिब पाँच सय जनाको सहभागिता रहेको मेलामा प्रमुख अतिथी, विशेष अतिथी र अतिथिहरुले समुदायलाई सुसूचित गर्ने यस्ता जनचेतनामूलक सामग्री प्रदर्शनले सामुदायिक चेतनाको वृद्धिमा टेवा पुग्ने भन्दै सिविस काठमाडौं संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।