नवराज गिरी
धादिङ सेर्तुङ कात्तिक १५ । धादिङ जिल्लाको रुविभ्याली गाउँपालिका वडा नम्बर -३, सेर्तुङमा कार्तिक ११ गतेबाट सञ्चालन भएको स्थानीय स्तरमा पाइने सामग्रीहरुबाट ५ दिने शैक्षिक सामग्री निर्माण तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय धादिङ तथा रुविभ्याली श्रोत केन्द्रको समन्वय, यु. एम. एन. धादिङको सहयोगमा हिम्स नेपाल र नमस्ते ग्रामीण विकास समाजको आयोजनामा तालिम सञ्चालन भएको हो ।
जिल्ला शिक्षा अधिकारी माधव प्रसाद शर्माले उद्घाटन गर्नु भएको सो तालिममा रुविभ्याली श्रोत केन्द्रका २० बिद्यालय, साविकको झार्लाङ गाविसबाट ४ बिद्यालय तथा साविकको रि गाविसबाट ३ वटा बिद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । ५ दिनसम्म सञ्चालन भएको कार्यक्रममा यु। याम। एन। धादिङका अनुगमन मुल्यांकन तथा सिकाइ सल्लाहकार पर्शुराम कार्की र संरक्षण अधिकृत सञ्जीब अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
तालिममा सहभागी शिक्षकहरूलाई स्थानीय स्तरमा कम तथा शुन्य लागतमा उपलब्ध शैक्षिक सामग्री निर्माण एवम् प्रयोग सम्बन्धि सीप तथा अवधारणा प्रदान गरिएको थियो । गत शनिबार तालिमको उदघाटन गर्नुहुँदै जिल्ला शिक्षा अधिकारी शर्माले एक ओटा शैक्षिक सामग्रीको प्रयोगबाट हजारौं शब्द बोल्ने भन्दै शैक्षिक सामग्री निर्माण तथा प्रयोग गर्न जोड दिनु भएको थियो ।
बुधबार समापन भएको तालिममा प्रमुख अतिथि समेत रहनु भएका रुविभ्याली श्रोत केन्द्रका श्रोत ब्यक्ति युबराज रेग्मीले तालिमबाट सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा प्रवेश गराई बिद्यार्थीका सिकाइ उपलब्धि वृद्धि गराउन सहभागी शिक्षकहरु सक्षम हुने विश्वास व्यक्त गर्नु भयो ।