चट्याङको पूर्वसूचना दिने उपकरण संचालनमा आउने

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०७४

काठमाडौं, जेठ ३१ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने उपकरण असारभित्रै सञ्चालनमा ल्याउने भएको छ । उपकरणले १५ देखि २० मिनेट अघि नै सूचना दिने जल तथा मौसम विज्ञान विभागका महार्निदेशक ऋषिराम शर्माले बताए । उनले भने ‘१५ देखि २० मिनेटमा हामीले जानकारी पाउँछौँ । सर्वसाधारणको मोबाइलमा ५ देखि १० मिटेनअगाडि नै सूचनादिन सकिन्छ ।’

पूर्वसूचना दिएमा चट्याङबाट मृत्यु हुनेको संख्या कम हुने अपेक्षा विभागको छ । नेपाल सरकार र विश्व वैंकको तीन करोड ४४ हजार रुपैयाँ सहयोगमा काम थालिएको हो ।

देशका सम्पूर्ण भाग समेट्ने गरी ९ ठाउँमा स्टेसन राखेर सूचना दिने काम अन्तिम चरणमा पुगेको शर्माले बताए । ‘हामीले अनुुसन्धान गर्दा भित्री मधेसमा सबैभन्दा धेरै चट्याङ पर्ने गरेको देखियो । सोहीअनुसार चट्याङको पूर्वसूचना दिने स्टेसन स्थापना गरेका छौँ’ उनले भने ।

चट्याङ मनसुन सुरु हुनुभन्दा अघिदेखि नै पर्न थाल्छ । तर, मनसुनको समयमा भने एकदमै कम हुने विभागले जनाएको छ । स्टेसन राख्ने काम सकेपछि तथ्यांक संकलन सुरु गरिनेछ । स्टेसनबाट कुन समय र क्षेत्रमा सबैभन्दा धेरै चट्याङ पर्छ भन्ने तथ्यांक संकलन गरिने शर्माले बताए । देशभर वार्षिक रूपमा चट्याङबाट मात्र दुई सय ५० देखि तीन सयजनाको ज्यान जान्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यसरी चट्याङ हुन्छ
चट्याङ अरू केही नभई बादलको एक–आपसको घर्षणबाट हुने प्रणाली हो । बादलमा हुने धनात्मक र ऋणात्मक ध्रुव एक–आपसमा जोडसँग मिल्दा चट्याङ हुन्छ । सोही क्रममा आगोसमेत बल्ने गर्दा धेरै क्षति हुने गर्छ । हावाले एक ठाउँबाट अर्को ठाउँमा बादललाई लैजाँदा स्वाभाविक रूपमा चट्याङ पर्ने सम्भावना हुन्छ । ‘हावा कतातिर बगेको छ । बादल कता केन्द्रित हुँदैछ भन्ने हेर्छौं’ शर्माले भने ‘बादल केन्द्रित हुने ठाउँमा स्वाभाविक रूपमा चट्याङ हुन्छ ।’
यसरी सावधानी बनौँ
चट्याङ पर्दा सामान्यतया पृथ्वीको सबैभन्दा ठूलो भागमा असर पर्दछ । चट्याङले पहाड, रूख बिरुवा, घर, टावरजस्ता वस्तु जलाउने तथा असर गर्ने गर्दछ । आकाशमा गड्याङगुडुङ भई चट्याङ आउने समयमा रुखमुनि कहिलै बस्नु हुँदैन । त्यसैगरी, मोबाइल फोन, रेडियोलगायत विद्युतीय सामग्री प्रयोग गर्दै गरेमा पनि तत्काल बन्द गर्नुपर्छ । घरबाहिर भएमा खाली ठाउँमा हल्का निहुरिएर बस्दा सुरक्षित हुन सकिन्छ ।
यी क्षेत्रमा स्टेसन
विभागका क्षेत्रीय र स्थानीय मौसम स्टेसनमा चट्याङका स्टेसनहरू राखिएको छ । तुम्लिङटार, विराटनगर, सिमरा, काठमाडौँ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा स्टेसन राखिएको छ । चट्याङका सवै पूर्वानुमान गर्ने स्टेसनहरू भने विमानस्थल वरिपरि राखिएको छ । सोही क्षेत्रबाट नेपाल टेलिकम र एनसेल टेलिफोन सेवा प्रदायकबाट सूचना ९एसएमएस० पठाइनेछ । चट्याङ पर्न सक्ने क्षेत्रका सर्वसाधरणलाई मात्र सूचना पठाइने विभागले जनाएको छ ।