हरि नेपाली
दुबई, चैत १ । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले खाडी मुलुक लगायत विभिन्न देशबाट नेपाल भित्रिने रेमिट्यान्स अत्याधिक मात्रामा अवैधानिक बाटोबाट आउने गरेको बताएका छन् ।
नेपाल राष्ट्र बैकको आयोजना र नेपाली दुतावास अवुधावीको सहकार्यमा गत सोमबार दुबईको फोर पोइन्ट सेराटन होटलमा आयोजित बैदेशिक रोजगार बचतपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै डेपुटी गर्भनर शिवाकोटीले आफुले आर्जन पैसा बैकिङ च्यानल मार्फत बैधानिक रुपमा नपठाए विभिन्न कानुनी झमेलामा पर्न सक्ने तर्फ सचेत गराएका थिए ।
उक्त कार्यक्रममा राष्ट्र बैकका उपनिर्देशक कुलबहादुर केसी ले आन्तरिक ऋण उठाउनको लागि बैदेशिक रोजगार बचतपत्रको निष्कासन गरिएको जानकारी दिदै बचतपत्र खरिद गर्न सकिने तरीका, लाभान्वित ब्यक्तिहरु, आवश्यक प्रक्रिया तथा फाइदाहरुको बारेमा बताएका थिए । उक्त बचतपत्र खरीद विक्रि सम्बन्धी अन्य व्यवस्थाहरु प्रचलित ऐन, नियम तथा बैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि २०६९ तथा खुला बचार संचालन समितिको निर्णय बमोजिम हुने भएकोले राज्य रहेसम्म आफुले गरेको बचत र त्यसको मुनाफाको बिषयमा चिन्तित हुनु नपर्ने भएकोले सुरक्षित समेत भएको बताएका थिए ।
नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तमणी शिवाकोटीको सभापतित्वमा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा नेपाली दुतावास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टण्डन, नेपाल विजनेस काउन्सिल युएईका अध्यक्ष आसिफ अलि सिद्धिकी, एनआरएनए युएईका अध्यक्ष सुदीप कार्की लगायतको आतिथ्यता रहेको थियो । त्यसैगरि कार्यक्रममा युएईमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, ब्यवसायी, समाजसेवी तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।