
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । बैठकले तिहारलगत्तै धादिङका ६ स्थानीय तहका ग्रामीण क्षेत्रमा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।
धादिङबेसीमा असोज ३१ गते सम्पन्न समाजको चौथो महाधिवेशनबाट बद्री खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । उक्त कार्यसमितिले आइतबार पदभार ग्रहण तथा शपथग्रहण गरेपछि पहिलो बैठक सम्पन्न गरेको हो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष राजन खकुरालले नवनिर्वाचित अध्यक्ष बद्री खतिवडालाई संस्थाका आधिकारिक कागजात हस्तान्तरण गरेका थिए । खकुरालले दुई कार्यकाल अध्यक्षका रूपमा समाजको नेतृत्व गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष खकुरालको कार्यकालको प्रशंसा गर्दै उनले अघि बढाएको गति र कार्यशैलीलाई निरन्तरता दिनु नयाँ कार्यसमितिका लागि चुनौती रहेको अध्यक्ष खतिवडाले बताएका थिए । खकुराल निवर्तमान अध्यक्षका रूपमा मात्र नभई वर्तमान कार्यसमितिको अभिभावकका रूपमा समेत रहने उनले बताए ।
६ स्थानीय तहका ग्रामीण क्षेत्रमा क्यान्सर स्क्रिनिङ शिविर
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले तिहारलगत्तै धादिङका ६ स्थानीय तहका ग्रामीण क्षेत्रमा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो ।
त्यसैगरी, संस्थाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन धादिङबेसीमा कार्यालय सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी
असोज ३१ गते सम्पन्न चौथो महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा जापानका राजेन्द्र श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन् । उपाध्यक्षमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती तथा महिला उपाध्यक्षमा सम्झना भण्डारी छन् ।
त्यसैगरी, महासचिवमा कल्याण विक्रम कार्की, सचिवमा दिनेश लोहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल तथा महिला सचिवमा कविता दाहाल छन् ।
कोषाध्यक्षमा रामकुमार थापा, सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल तथा युवा संयोजकमा सुदिप सी. विष्ट र श्यामहरी तिमल्सिना छन् ।
कार्यसमितिका सदस्यमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर छन् ।
यस्तो छ अन्तर्राष्ट्रिय धादिङ समाजको इतिहास
अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार २०७४ असोज ३१ गते काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।
त्यसपछि समाजको विश्व भेला तथा पहिलो अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।
समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।










