वृद्धाश्रमका लागि बनेको भवनमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय उद्घाटन

Avatar photo
Dhadingpost
कार्तिक २३, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ मनकामना टोलस्थित वृद्धाश्रम प्रयोजनका लागि सरकारी बजेटबाट निर्माण गरिएको सामुदायिक भवनमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय उद्घाटन गरिएको छ ।

नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार वडाले अन्तर्राष्ट्रिय धादिङ समाजलाई कार्यालय सञ्चालनका लागि उक्त भवनको एउटा कोठा निःशुल्क उपलब्ध गराएको हो ।

कार्यालयको उद्घाटन वडा अध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष बद्री खतिवडाले संयुक्त रूपमा गरेका हुन् ।

सार्वजनिक जग्गामा सरकारी बजेटबाट निर्माण गरिएको उक्त सामुदायिक भवन वृद्धाश्रम सञ्चालन गर्ने उद्देश्यले बनाइएको हो । सोही भवनको एउटा कोठा अन्तर्राष्ट्रिय धादिङ समाजलाई कार्यालय सञ्चालनका लागि उपलब्ध गराइएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाको सामाजिक विकास, सहयोग तथा विभिन्न सामुदायिक गतिविधिमा काम गर्दै आएको छ । समाजको कार्यालय स्थापना भएपछि जिल्लामा सञ्चालन गरिने सामाजिक गतिविधि तथा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तस्वीर : केशव अधिकारी