धादिङका राजन खकुरालको ‘लन्डन इयर केयर’को ब्रान्ड एम्बेसडर बने क्रिकेटर इशान पाण्डे

Avatar photo
Dhadingpost
कार्तिक १२, २०८३

धादिङ । धादिङका युवा समाजसेवी राजन खकुरालद्वारा लन्डनमा सञ्चालित ‘लन्डन इयर केयर’ले नेपाली क्रिकेटर इशान पाण्डेलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले पाण्डेलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर बनाएको हो ।

लन्डन इयर केयरका निर्देशक एवं क्लिनिकल अडियोलोजिस्ट खकुराल र क्रिकेटर पाण्डेबीच काठमाडौंस्थित रोयल ट्युलिप होटलमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसमेत उपस्थित थिए ।

कार्यक्रममा क्यान अध्यक्ष चन्दले यस किसिमका सम्झौताले नेपाली खेलाडीलाई आर्थिक रूपमा थप सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

लन्डनमा सञ्चालन हुँदै आएको लन्डन इयर केयरले कानको परीक्षण, माइक्रोसक्सन प्रविधिबाट कानको मैन सफा गर्ने सेवा, श्रवण शक्ति परीक्षण तथा हियरिङ एडसम्बन्धी परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका खकुरालले धादिङमा युवा समाजसेवीका रूपमा आफ्नो पहिचान स्थापित गरेका छन् । उनी अन्तर्राष्ट्रिय धादिङ समाजको नेतृत्वमा रहँदा धादिङ जिल्ला क्रिकेट संघले आयोजना गर्ने विभिन्न प्रतियोगितामा महत्त्वपूर्ण आर्थिक सहयोग गर्दै आएका थिए ।

खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यमा सहयोग गर्दै आएका खकुरालको कम्पनीले नेपाली क्रिकेटरलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्नुलाई खेलकुद र व्यवसायबीचको सहकार्यका रूपमा हेरिएको छ ।