काठमाडौ, माघ २१ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले रोजगारीका लागि मलेसिया जाने नेपालीसँग विभिन्न नाममा उठाउने गरिएको रकम उठाउन तत्काल नरोके कामदार मलेसिया पठाउन रोक्न सरकारसँग आग्रह गरेको छ । संघले कामदार मलेसिया पठाउने व्यवसायीको भेलामा यस्तो आग्रह गरेको हो ।
भेलामा संघका महासचिव रोहण गुरुङले बायो मेट्रिक, माइग्राम्स, ओएससी, आइएससी नामका संस्थाहरुले नेपालीसँग ठूलो रकम असुलिरहेको भन्दै त्यस्ता संस्था खारेज गर्न कुटनीतिक पहल गर्न श्रम तथा रोजगार मन्त्रालय र अन्य सरोकारवाला मन्त्रालय तथा निकायलाई अनुरोध गरे । उनले आगामी फागुन ३० गतेभित्र त्यस्ता संस्थाको अवैधानिक कामलाई रोक्न नसके कामदार मलेसिया पठाउन रोक्न सरकारसँग आग्रह गरे ।
मन्त्रालयले संघको आग्रहलाई बेवास्ता गरे ति संस्थाले गरेको आर्थिक कारोवारको सम्पूर्ण जिम्मेवारी श्रम तथा रोजगार मन्त्रालय नै हुने संघले ठहर गरेको छ ।