घर बनाउने भूकम्प प्रभावितलाई काठ दिन सरकारले काम थाल्यो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

धादिङ कात्तिक २-

barpak-earthquake

सरकारले भूकम्प प्रभावितलाई घर बनाउन काठ उपलब्ध गराउनका लागि काम सुरु गरेको छ । वन तथा भूसंरक्षण मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि सहज रुपमा काठ उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वयका लागि वन विभागका उपमहानिर्देशक हेम अर्यालको संयोजकत्वमा एकाइ गठन गरी काम अघि बढाइसकेको छ ।

विभागले अहिलेसम्म भूकम्पले क्षति पुर्‍याएका ३१ मध्ये १५ जिल्लाका केही बस्तीमा झण्डै पाँच लाख क्युफिटभन्दा बढी काठ वितरण गरिसकेको छ ।

एकाइले पुनर्निर्माणमा आवश्यक पर्ने काठको परिणाम र काठको आकारप्रकारका बारेमा विस्तृत अध्ययन गर्नुका साथै कुन जिल्ला के कति काठ उपलब्ध छ भन्ने तथ्याङ्क सङ्कलन गर्ने वन सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले भूकम्प प्रभावितलाई काठ वितरण गर्न ‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ तयार गरी जारी गरिसकेको छ ।