आग्राखोलाबाट अवैध कर असुली गर्ने पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १, २०७३

हरिहरसिंह राठौर, आग्राखोला, धादिङ कार्तिक १- आग्राखोलाबाट गिटी, ढुंगा ओसारपसार गर्दै आएका ढुवानीका साधनहरूसँग अवैध रूपमा कर उठाउने समूहलाई स्थानीय प्रशाासनले नियन्त्रणमा लिएको छ ।

पाँच जनाको समूह तीन वर्षदेखि थाक्रे ३ को सडकमै बसेर कर उठाउँदै आएका थिए । काउन्टर स्थापना गरी दैनिक ५० देखि ६० हजार रुपैयाँ उठाइएको प्रहरीको अनुमान छ ।

प्राकृतिक स्रोतका नाममा लिने कर स्थानीय निकायबाहेक सर्वसाधारणले उठाउन पाउँदैनन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्माका अनुुसार कर उठाउन काउन्टरमा बसिरहेको अवस्थामा राजकुमार थापालाई नियन्त्रणमा लिइएको छ । ‘अन्यको खोजी भइरहेको छ’, प्रजिअ पोखरेलले भने, ‘विभिन्न जिल्लाबाट आएका मान्छे यो धन्दामा रहेको देखियो ।’ उनका अनुसार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास कार्कीको समेत संलग्नता रहेको प्रमाण भेटिएको छ । उनीहरूले बगरलाई आफ्नो जमिन भन्दै ढुंगा, गिटी निकासी गर्ने ट्रयाक्टर, ट्रिपरलगायतका सवारी साधनसँग सयका दरले पटके कर उठाउँदै आएका थिए । उनीहरूले आग्राखोलाका इजाजतप्राप्त ढुंगाखानीका सञ्चालकसँग पनि एकमुष्ट लाखौं रुपैयाँ लिँदै आएका थिए । जिल्लाको दक्षिणी भेक मकवानपुरको सिमानाबाट उत्तर बगेर त्रिशूलीमा मिसिने आग्राखोला ३० किलोमिटर क्षेत्र गाविसको नियन्त्रणमा छैन । खोलाको पल्लो किनार भूमेस्थान गाविसले वार्षिक निकासी कर ४२ लाखको ठेक्का लगाएको छ । अर्को किनार थाक्रे गाविसलाई भने कर संकलन गर्न नदिई स्थानीयले कब्जामा लिएका हुन् ।

उक्त समूहले गिटी, बालुवा र ढुंगा संकलन गरी स्थानीयलाई घर बनाउन पनि दिएका छैनन् । आग्रामा जोसुकैले ढुवानी साधन लैजान पनि सिन्डिकेट छ । मजदुर युनियनका अध्यक्ष पूर्ण लिम्बूले सिफारिस गरेर खरिद गरेका ट्रयाक्टरबाहेक अरूलाई खोलामा लैजान प्रतिबन्ध छ । लिम्बूले सिफारिस गरेपछि मात्र त्यहाँ चल्ने ट्रयाक्टर खरिदको अनुमति पाइन्छ ।

विभिन्न १६ जिल्लाबाट आएर वर्षौंदेखि यही पेसामा लागेका सयौं मान्छे छन् । यसमा बालबालिका पनि अधिक छन् । स्थानीय राई, तामाङ, चेपाङसमेत २ सय घरका बासिन्दा यसै पेसामा संलग्न छन् । ५/६ जना मिलेर एक ट्रयाक्टर ढुंगा लोड गरेबापत ३५ सयदेखि ४५ सय कमाइ गर्छन् । उक्त ट्रिपबापत स्थानीय समूहलाई ७ सय रुपैयाँ दिनुपर्छ । झुपडी अगाडि बसेर गिटी कुट्नेले पनि प्रतिटिन एक रुपैयाँ तिर्नुपर्छ । एक टिनको ४० रुपैयाँमा बिक्री हुने गरेको छ । प्रतिव्यक्तिले दैनिक १५ टिनसम्म गिटी कुट्ने गर्छ । बालबालिकालाई स्कुल जानुअघि र पछि गिटी कुट्न लगाइन्छ । आग्राको पाँच किमिमाथि घर हुनेले खोलामा आफ्नो अधिकार जमाएका छन् । जनजागृति उच्च माविका शिक्षक रामचन्द्र रूपाखेतीले ५ सय मिटर खोलाको किनार १२ लाखसम्ममा बिक्री हुने गरेको बताए । साभार कान्तिपुर