धादिङ असोज ८-
तत्कालिन केपी शर्मा ओली सरकारका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको गाडी र चालक जबरजस्ती लगेका छन् ।मन्त्री पदबाट हटेको दुई महिना पुग्न लाग्दासमेत राईले खुलेआम टेलिकमको महंगो गाडी चढेर हिड्ने गरेका छन् ।
उनले नेपाल टेलिकमको नेपाली बजारमा करिब करिब डेढ करोड पर्ने बा १० च ७१६३ नम्बरको मिसुबीसी कम्पनीको पजेरो लगेको टेलिकम स्रोतले जनाएको छ।
सञ्चार मन्त्रालय स्रोतका अनुसार कुनै पनि पूर्वमन्त्रीले यसरी टेलिकमको गाडी दिन दबाब नदिएको तर राईले थर्काएरै टेलिकमको गाडी लगेको बताए । मन्त्री पद खुस्किसकेको व्यक्तिले यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु अनुचित कार्य भएको मन्त्रालय स्रोतको भनाइ छ ।
राईलाई गाडी फिर्तागर्न पटक–पटक ताकेता गरेपनि उनले फिर्ता गर्न अस्वीकार गरेको भन्दै अव यस विषयमा आफूहरु थाकिसकेकाले अब केही नबोल्ने टेलिकम अधिकारी बताउँछन ।
यसअघि प्राडो चढेका राई प्राडो फिर्ता गरेर त्योभन्दा गुणस्तरीय गाडी बोकेर हिँडेको स्रोतको दाबी छ । मन्त्री पद खुस्किएको केही दिनसम्म मन्त्रालय र मातहतको निकायको गाडी चढ्नु स्वभाविक भएता पनि यतिका लामो समयसम्म प्रयोग गर्नु आपत्तिजनक र राज्य स्रोतको ठाडो दोहन गर्नु हो ।