सिप्रदीले सुनिल र आरिफलाई मासिक २० हजार दिने

Avatar photo
Dhadingpost
बुधबार, भदौ २२, २०७३

धादिङ भदौ २२

timthumb

युवा क्रिकेटर सुनिल धमला र आरिफ शेखलाई सिप्रदी समूहले मासिक २० हजार रुपियाँ प्रायोजन गर्ने भएको छ।
राष्ट्रिय टोलीका यी दुवै क्रिकेटरलाई सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी सहायता संस्थाले दुई वर्षका लागि प्रायोजन गर्न लागेको हो। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सिप्रदी समूहका निर्देशक शम्भुप्रसाद दाहालले यसको घोषणा गर्दै उनीहरूलाई रकमसहित क्रिकेट किट्स पनि प्रायोजन गर्ने जानकारी दिए।
‘यो सुरुवात मात्र हो। आगामी दिनमा पनि देशका खेल प्रतिभालाई प्रायोजन गर्ने हाम्रो लक्ष्य छ,’ सेतोपाटीसँग कुराकानी गर्दै निर्देशक दाहालले भने। केही समयअघि गठन भएको क्रिकेट खेलाडी संघ नेपालको अनुरोधमा आफूहरूले दुवै खेलाडीलाई प्रायोजन गर्न राजी भएको दाहालले बताए।
कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान तथा खेलाडी संघका महासचिव पारस खड्काले खुसी व्यक्त गरे। उनले प्रायोजन गर्ने संस्थालाई विशेष धन्यवाद दिँदै भने,‘यस्तो सहयोगले खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्छ।’ उनले निकट भविष्यमा अन्य संस्थालाई पनि सहयोगका लागि निवेदन गर्ने बताए।
सिप्रदीले क्रिकेटमा लाग्न आफूहरूलाई प्रायोजन गरेर हौसला बढाएकोमा दुवै खेलाडीले विशेषरूपमा प्रयोजक संस्था र खेलाडी संघलाई धन्यवाद दिए।
गत वर्ष युथ–१९ विश्वकपमा सहभागी यि दुवै खेलाडीले राष्ट्रिय टोलीमा मौका पाइसकेका छन्। १८ वर्षिय आरिफले सन् २०१४ मा एसीसी प्रिमियर लिगमा हङकङविरूद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनी २०१५ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा पनि राष्ट्रिय टोलीमा समावेश थिए।