धादिङ भदौ ६
स्थानीय तहको पुनरर्संरचनाबारे पार्टीको आधिकारिक धारणा बनाउन आयोजना गरिएको नेपाली कांग्रेसको सभापति भेला आज सकिँदैछ ।
भेलामा सहभागि अधिकांशले स्थानीय निकाय पुनर्संरचना आयोगले दिएको गाउँपालिकाको संख्या कम हुने भन्दै बढाउनुपर्ने मत राखेका छन् ।
यसअघि आइतबार भेलाको शुरुवात गर्दै पार्टीका शीर्ष नेताहरुले स्थानीय तहको पुनरर्संरचनातर्फभन्दा पनि अहिलेकै स्थानीय निकायको निर्वाचन गर्नुपर्नेका जोड दिएका थिए ।
उनीहरुले मौजुदा व्यवस्थाबाटै स्थानीय तहको काम गर्न सकिने विश्वास व्यक्त गरेका थिए । अहिले भइरहेकै स्थानीय निकायलाई नयाँ संविधानको प्रावधान अनुरुपको स्थानीय तह मान्दा उपयुक्त हुने सोच शीर्ष नेताहरुको छ ।
नेताहरुले अहिलेको संरचना चलाउन थाल्दा विवाद हुने भएकाले यथास्थितिमै निर्वाचन गराउँदा राम्रो हुने सुझाएका हुन् । उनीहरुले स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको पुनर्संरचनाको खाकालाई समेत अनुपयुक्तको संज्ञा दिए ।
पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै गर्नुपर्ने भएकाले अहिलेकै संरचनालाई स्थानीय तह मानेर जानुपर्ने बताए ।
स्थानीय तहमा सिमांकन गर्न थाल्दा समस्या निम्तिने भन्दै सबैलाई मान्य भइरहेको वर्तमान संरचना चलाउन नहुने उनको भनाइ थियो । यसबारेमा अरु दलसँग समेत छलफल गरेर निष्कर्षमा पुगिने देउवाको धारणा छ ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अहिलेको जिल्ला तहलाई कायमै राख्नुपर्ने धारणा राखे । उनले जिल्लाको संरचना राख्दा जनतालाई शासनको पहुँचमा सजिलो हुने तर्क गरे ।
कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतले ५ सय ६५ वटा गाउँपालिका बनाउने पुनर्संरचना आयोगको प्रस्ताव पूर्ण नभएकाले स्वीकार्न नसकिने बताए ।