नेविसंघको चुनाव बुधवार हुने

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३२, २०७३

धादिङ साउन ३२

nbs

अब नेविसंघ नेतृत्वका लागि बुधबार निर्वाचन हुने भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारीको समय पौडेल पक्षको मागअनुसार मंगलबार बिहान ८ बजेसम्मका लागि थप गरिएको छ ।लामो विवाद र रस्साकस्सीपछि कांग्रेस सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच निर्वाचनबाटै नेतृत्व चयन गर्ने समझदारी जुटेको छ । देउवा र पौडेलबीच सोमबार भएको छलफलपछि यस्तो समझदारी जुटेको हो ।

विधानविपरीत संस्थापन पक्षले प्रतिनिधि थप गरेको, अनशनको नाममा गैरविद्यार्थीलाई प्रतिनिधि बनाइएको, विवाद नभएका जिल्लाका प्रतिनिधिसमेत फेरबदल गरिएको जस्ता विषय उठाएर पौडेल पक्षीय विद्यार्थी विरोधमा उत्रिएका थिए । पौडेल पक्षलाई थप ३० प्रतिनिधि दिने, उपत्यकाबाट मात्रै ब्लक प्रतिनिधि बनाइएका कतिपयलाई राजधानीबाहिरबाट प्रतिनिधित्व गराउने, विवाद मुक्त भनिएका ६४ जिल्लाको प्रतिनिधि पुनरावलोकन गर्ने पक्षमा सझदारी जुटेपछि निर्वाचन हुने पक्का भएको हो । दुई नेताबीच भएको छलफलका आधारमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्माले भागबन्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो ।

एकै ठाउँमा ब्लक भोट रहँदा प्रादेशिक संरचनाअनुसार निर्वाचनलाई असर गर्ने बताउँदै पौडेल पक्षले उपत्यकाबाहिरबाट प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएको हो । विधिवत् महाधिवेशन गराउनुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी समूहले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि पाएको थियो । सोमबार पौडेल पक्षलाई थप ३० प्रतिनिधि उपलब्ध गराएपछि महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या ३७ सय ८० पुगेको छ ।

सभापति देउवाले सहमतिमा नआए पनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएका थिए । प्रक्रिया अघि बढ्ने निश्चित भएपछि पौडेल पक्ष सहमतिका लागि अग्रसर भएको हो । पार्टीबाट गठित निर्देशन समितिका संयोजक प्रकाशरण महतले बुधबार निर्वाचन हुने बताए । ‘अधिवेशन गराउन समस्या भएमा पार्टी सभापतिले हस्तक्षेप गरी निर्णय गरिदिने विगतको परम्परा थियो, यसले राम्रो सन्देश नगएको र नेविसंघको धार समेत कमजोर भएको महसुस भएरै यसपटक निर्वाचनबाटै नेतृत्व आउनुपर्छ भन्नेमा सभापति देउवाको जोड रह्यो,’ महतले भने, ‘असन्तुष्टका मागमा लचिलो भएर पनि निर्वाचनबाटै नेतृत्व ल्याउनकै लागि आज यतिका दिन बिते, अब यो अन्तिम मौका हो । बुधबार जसरी पनि निर्वाचन हुन्छ ।’