मुलुकको ३९ औ प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित

Avatar photo
Dhadingpost
बुधबार, साउन १९, २०७३

धादिङ साउन १९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। दाहाल संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित बनेका हुन हुन्।

नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा भएको निर्वाचन कुल ५७३ मत खसेकोमा प्रचण्डले ३६३ मत पाएर प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका छन् भने विपक्षमा २१० मत परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि बुधवार निर्वाचन भएको हो । निर्वाचनका लागि संसद बैठक विहान ११ बजेका लागि बोलाइएको थियो तर निर्धारित समय भन्दा करिब २ घण्टा ढिला गरि शुरु भएको थियो । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्रै उम्मेदवारी परेको थियो।

प्रधानमन्त्रीका उम्मेदवार दाहालले आफ्नो उम्मेदवारी संसदमा सूचना दिइसकेपछि प्रस्ताव र समर्थकले समर्थन गरेका थिए। त्यसपछि सभामुखले प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रचण्ड प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार भएपनि मत विभाजन भने भएको थियो ।

प्रधानमन्त्रीका लागि दाहालको मात्रै उम्मेदवारी परेकाले बुधवार उनी दोस्रो पटक मुलुकको कार्यकारी पदमा निर्वाचित भएका हुन । दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै उनी दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेतासमेत बनेका छन।

संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको संसद सचिवालयले जनाएको छ। दाहालका प्रस्तावकमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा र समर्थकमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरालगायत १६ दल रहेका थिए। दाहाललाई संसदको ठूलो दल नेपाली कांग्रेसहित १६ दलको समर्थन रहेकाले प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का थियो । प्रधानमन्त्रीमा निर्वाचित हुन हाल कायम रहेको संसद संख्या ५९५ मा २९८ मत प्राप्त गर्दा पुग्छ। दाहाललाई १६ दलका ३५८ सांसदको समर्थन छ।