बिहान ११ बजेको लागि बोलाइएको बैठक २ बजेसम्मको स्थगित

Avatar photo
Dhadingpost
बिहिबार, साउन ६, २०७३

धादिङ साउन ६
Parliament-Building-of-Nepal
विहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । यसवीचमा दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् ।

सभामुख ओनसरी घर्तीले विहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई छलफलका लागि आफ्नो कार्यकक्षमा बोलाएकी थिइन् । सभामुखले संसदमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनु अगावै प्रक्रियामा सहमति गर्न तीन दलका नेतालाई दबाव दिएकी थिइन् ।

‘शीर्ष नेताहरुले सभामुखज्यूसँग आ-आफ्नो पार्टीभित्र छलफल गर्ने समय माग्नुभयो,’ सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्माले भने, ‘दलका नेताहरुले आन्तरिक छलफल गरिसकेपछि फेरि दिउँसो १ बजे सभामुख र तीन दलका नेतावीच छलफल हुन्छ र दुईबजे संसद बैठक सुरु हुन्छ ।’

विहीबार बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र एमालेका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।