हरि नेपाली । दुबई – बैदेशिक रोजगारीको सिलसिलामा युएईमा मृत्यु भएका थानबहादुर गुरुङको परिवारलाई धादिङ समाज युएईले आर्थिक सहयोग गरेको छ ।
गत मे १८ का दिन उच्च रक्तचापका कारण बेहोस भई उपचारारत अवस्थामा नै अजमान स्थित अस्पतालमा मे २१का दिन मृत्यु भएका ज्याम्रुङ–९, धादिङका गुरुङको आर्थिक अवस्थालाई मध्यनजर गर्दै दुई बालबालिकको पठन–पाठनका लागि आर्थिक सहयोग संकलन गरेको थियो । धादिङ समाज युएईका सल्लाकार भुवन गुरुङको संयोजकत्वमा गठित आर्थिक सहयोग संकलन समितिले ४५ दिनसम्म विभिन्न व्यक्तिहरुबाट रु. ११,६३,०००/- संकलन गरेको थियो । उक्त संकलित रकम र धादिङ समाज युएईले कुनै पनि आजीवन सदस्यको वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएमा रु. १ लाख र अंगभंग भएमा रु.५० हजार दिने सहयोग योजना अन्तरगतको रु १ लाख समेत गरि जम्मा रकम ने.रु. १२,६३,०००/- एक कार्यक्रमका वीच सहयोग संकलन समितिका संयोजक भुवन गुरुङले यही जुलाई ८ शुक्रबारका दिन धादिङ समाजका अध्यक्ष भीम अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
धादिङ समाज युएईका संरक्षक एवं नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएनएका आईसीसी सदस्य गोपाल कँडेल, अर्घाखाची सम्पर्क समितिका युएईका अध्यक्ष राजु खड्का, नेपाल विश्व सहयोग संघका अध्यक्ष गोविन्द ढकाल, कलाकार संघ युएईका अध्यक्ष रामप्रसाद ढकाल, पर्वत सेवा समाज युएईका अध्यक्ष राजेन्द्र अधिकारी लगायत धादिङ समाज युएईका पदाधिकारी, आजिवन सदस्य लगायत अन्य व्यक्तित्वहरुको समेत उपस्थितीमा हस्तान्तरित उक्त रकम अल अहलिया मनी एक्सचेन्जमार्फत दुई बालबालिका प्रतिमा गुरुङ र प्रज्जवल गुरुङको नामबाट टुरिजम डेभलभमेन्ट बैक गंगवुमा खोलिएको मुद्धती खातामा जम्मा गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सहयोग संकलन समितिका संयोजक भुवन गुरुङले युएईका साथै कतार ,मलेसिया, दक्षिण कोरीया, नेपाल एवं बेलायतबाट सहयोग गर्ने तथा यस अभियानमा अहोरात्र खट्नुहुने अबुधाबीबाट शिब गुरुङ ,बिकास गुरुङ र नर बहादुर घले ,दुबईबाट होम अधिकारी, प्रदिप लोहनी र पुष्प गुरुङ ,शारजहाबाट शंकर श्रेष्ठ तथा अजमानबाट विशेष रुपमा खट्नु हुने राजकुमार ओस्तीप्रति विशेष धन्यवाद व्यक्त गर्दै आफुलाई गहन र महत्वपुर्ण जिम्मेवारी सुम्पने धादिङ समाज युएईप्रति आभार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमा आफ्नो भनाई राख्दै समाजका अध्यक्ष भीम अधिकारीले धादिङ समाज आफ्ना सदस्यहरुका लागि सहयोग योजना ल्याउने र कार्यान्वयन गर्ने पनि पहिलो संस्था भएको बताउदै युएईमा रहेका अन्य जिल्लावासीहरुलाई पनि आजीवन सदस्यता लिन आग्रह गरेका थिए ।