कांग्रेस महामन्त्री सशांक कोइराला गए रातिदेखि अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।
मंगलबार साँझ एक्कासी वान्ता भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो।अस्पताल भर्ना भएपछि बुधवार बिहान ४ बजेतिर फेरि वान्ता भएपछि उनलाई आइसीयूमा राखेर डा. लब जोशी नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ।
कोइरालालाई ‘ निमोनिया’ भएको चिकित्सकको टोलीले पुष्टि गरेको कांग्रेस नेता दिलेन्द्र बडुले जानकारी दिए। बडुका अनुसार मंगलबार साँझ नै कोइरालालाई एक्कासी गाह्रो भएपछि ओम अस्पतालमा भर्ना गरिएको हो। बडुले भने,‘हिजोसाँझ अस्पताल भर्ना भएपछि स्वास्थ्यमा सुधार आएको थियो। तर बिहान ४ बजे फेरि वान्ता भएपछि स्वास्थ्यमा फेरि समस्या देखिएपछि अहिले आइसीयूमा भर्ना गरेर उपचार गराराखिएको छ।’
कोइरालाको उपचार बरिष्ठ कार्डियोलोजिष्ट डा. जोशी र डा. भगवान कोइरालासहितको चिकित्सकको टोलीले गरिरहेको बडुले बताए।
कोइरालाको उपचारका लागि भगवान कोइराललाई गएराति नै ओम अस्पतालमा बोलाइएको हो। आइसीयूमा भर्ना भएका कोइरालाको रक्तचाप निकै न्यून रहेको र स्वास्थ्यमा सुधार आउन अझै केही समय लाग्ने चिकित्सकहरुले बताएको उनले जानकारी दिए।