युरोकपमा आज वेल्सको भेट बेल्जियमसँग

Avatar photo
Dhadingpost
शुक्रबार, असार १७, २०७३

धादिङ असार १७
timthumb.php

फ्रान्समा जारी युरो-कप फुटबलमा शुक्रबार मध्यराति क्वाटरफाइनलको दोस्रो खेलमा बेल्जियमले वेल्सको सामना गर्नेछ।

लिलेस्थित स्टेड पिरे मोउरेमा नेपाली समय अनुसार राति १२: ४५ बजे हुने खेलको विजेताले फाइनल प्रवेशका लागि क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगलको सामना गर्नुपर्ने छ।

यसअघि हिजो भएको पहिलो क्वाटरफाइनलमा पोल्यान्डलाई हराउँदै पोर्चुगल अन्तिम चारमा पुगेको हो।

फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियम विश्वकप सन् १९८६ पछि अहिलेसम्म कुनै पनि ठूला प्रतियोगिताको सेमिफाइनलसम्म यात्रा गरेको छैन। यता, ५८ वर्षपछि ठूलो प्रतियोगितामा सहभागिता जनाइरहेको वेल्स पनि पहिलो पटक सेमिफाइनल सम्म यात्रा गर्दैछ।

वेल्स प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पहिलो सहभागितामै क्वाटरफाइनलमा पुगेको हो। बेल्जियमले भने प्रिक्वाटरफाइनलमा हंगेरीलाई हराएको थियो। समूह चरणमा स्लोभाकिया र रसियालाई पराजित गरेको वेल्स इंगल्याण्डसँग पराजित भएको थियो।

सन् १९७२ मा युरोमा डेब्यु गरेको बेल्जियमको यो पाँचौ सहभागिता हो। सन् २००० यता भने बेल्जियमले युरो खेलेको यो पहिलो पटक हो।

पहिलो सहभागितामै तेस्रो बनेको बेल्जियम सन् १९८० मा उपविजेता भएको थियो भने १९८४ र २००० मा समूह चरणबाटै बाहिरिएको थियो।

सन् १९५८ को विश्वकपपछि वेल्सले पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा युरो–कपको १५ औं सस्करणमा सहभागिता जनाएको हो ।

बेल्जियमले यसअघि चारपटक यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ । सन् १९७२ आफैले आयोजना गरेर प्रतियोगितामा डेब्यु गरेको बेल्जियमले सेमिफाइनलमा जर्मनीसँग पराजित भएपछि तेस्रो स्थानमा चित्त बुझाएको थियो। युरोमा बेल्जियमले सबैभन्दा राम्रो प्रदर्शन गरेको सन् १९८० को इटाली संस्करण हो । त्यसबेला बेल्जियम फाइनलसम्म पुगेको थियो । तर, बेल्जियम जर्मनीसँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा सिमित भएको थियो।