पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी भएका छन्। अमेरिकी म्यागेजिन फोर्ब्स निकालेको सर्वाधिक पारिश्रमिक पाउने १० खेलाडीको सूचीमा रोनाल्डो एक नम्बरमा परेका हुन्। रोनाल्डोले यो वर्षको जुन १ सम्म ८८ मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको उल्लेख छ। रोनाल्डोले पारिश्रमिकबापत ५६ मिलियन डलर बुझेका छन् भने ३२ मिलियन डलर विज्ञापनवापत् बुझेका छन्।
रोनाल्डोपछि सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुन् बार्सिलोनाका स्टार लियोनल मेसी। मेसीले पछिल्ला १२ महिनामा ८१.४ मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको फोर्व्सले उल्लेख गरेको छ।
सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको तेस्रो नम्बरमा भने बास्केटबलका स्टार लिवोर्न जेम्स छन् उनले ७७.२ मिलियन डलर कमाइ गरेका छन्। जेम्सले विज्ञापनमा खेलेवापत् बार्सिलोना र रियल मड्रिडका खेलाडीभन्दा बढी कमाइ गरेका छन्। उनले विज्ञापनबाट मात्रै ५४ मिलियन डलर कमाएका छन्।
यस्तै चौथो स्थानमा रोजर फेडेरर छन् उनले ६७.८ मिलियन डलर कमाएका छन् भने पाँचौ स्थानका केभिन डुरान्टले ५६.२ मिलियन डलर, छैठौ स्थानका नोभाक जोकोभिचले ५५.८ मिलियन डलर कमाएका छन्। सातौं स्थानमा रहेका क्याम न्यूटनले ५३.१ मिलियन डलर, आठौंमा रहेका पिल मिकेलसनले ५२.८ मिलियन डलर कमाइ गरेका छन्। यस्तै कमाउनेको सूचीमा ९ नम्बरमा रहेका जोर्डन स्पिथले ५२.८ र १० नम्बरमा परेका कोबे ब्रायन्टले ५० मिलियन डलर पारिश्रमिक पाउँछन्।

