जेठ २६ –
झण्डै चार महिना अघि नै मस्तिष्क मृत्यु भएकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । पोर्चुगलको राजधानी लिस्बोनमा रहेको एक अस्तालमा चार महिना अघिनै मस्तिष्क मृत्यु भएकी महिलाले २ दशमलव ३५ किलोको बच्चा जन्माएकी हुन् । गर्भ रहेको ३२ हप्तामा नै महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको हो । नवजात शिशुकी आमालाई ब्रेन ह्यामरेज भएपछि गएको फेब्रुअरी २० मा डाक्टरले मस्तिष्क मृत्यु भएको घोषणा गरेका थिए । परीक्षणको क्रममा महिलाको गर्भमा रहेको भ्रुण स्वस्थ रहेको खुलेपछि गर्भ पतन गराइएको थिएन । डाक्टरले महिलाको श्रीमानको स्वीकृतिमा भ्रुण हत्या नगरेका हुन् । मंगलबार जन्मिएको बच्चाको स्वास्थ्य राम्रो रहेको डाक्टरले बताएका छन् । तर बच्चाकी आमाको अवस्थाका बारेमा भने केही बताएका छैनन् । पोर्चुगलमा आमाको मस्तिष्क मृत्यु भएको घोषणापछि लामो समयसम्म बच्चा गर्भमा जीवित रहेको यो पहिलो घटना हो । यसअघि गएको जनवरीमा पोल्याण्डमा एक महिलाले मस्तिष्क मृत्यु भएको ५५ दिनपछि स्वस्थ बच्चा जन्माएकी थिइन् । एक किलो मात्रै तौल रहेको बच्चालाई गएको अप्रिलमा अस्पतालबाट घर लगिएको थियो ।
– एजेन्सीको सहयोगमा