हरि नेपाली/ दुबई, ५ अप्रिल २०१६ – धादिङ समाज युएईले नयाँ बर्ष वि.सं. २०७३ सालको अवसर पारेर आयोजना गर्न गइरहेको नयाँबर्ष शुभकामना सांगितिक साँझ–२०७३ को सम्पुर्ण तयारी पुरा गरेको छ ।
धादिङ समाजका सल्लाहकार एवं कार्यक्रमका संयोजक भुवन गुरुङले यस्तो किसिमको कार्यक्रम धादिङ समाजले पहिलो पटक गर्न लागेको जानकारी दिदै उक्त कार्यक्रमबाट प्राप्त रकम चेपाङ विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सहयोग गराउने जानकारी गराएका छन् ।
यही अप्रिल ८ तारिख शुक्रबारका दिन दुबईको इम्पेरियल स्वीट होटलमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त धादिङे कलाकारहरु बिरु लामा, बिनु तामाङ र जीवन पन्तको प्रस्तुति रहने छ । साथमा वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर पनि स्थानीय स्तरमा आफ्ना प्रस्तुतिहरु मार्फत नेपालीहरुलाई मनोरन्जन प्रदान गरिरहने स्थानीय कलाकारहरु सुदीप गैरे, रीता लामा, विक्रम पौडेल, रोशनी सुब्बा, कमल परियार, हरि डुम्रे, सुमित्रा आचार्य, दीपक गुरुङ, विष्णु गिरी, गंगा खराल लगायतको पनि बेजोड प्रस्तुति रहने धादिङ समाज युएईका कलाकार संयोजक सुदीप गैरेले जानकारी गराए । संयोजक गैरेको भनाई थियो “युएईमा कार्यरत नेपालीहरुलाई धादिङ समाजले अधिक मनोरन्जन दिनको लागि भरमग्दुर कोशिश गर्नेछौ ।”
उक्त सांगितिक कार्यक्रमलाई नमस्ते ट्राभल, एअर अरविया, एभरेष्ट रेष्टुरेन्ट, सर्लाही फुडस्टफ, अल अहलिया मनी एक्सचेन्ज, युनिभर्सल ब्लुओसन कन्सल्टेन्ट लगायतले प्रायोजन गर्नुका साथै अन्य थुप्रै व्यवसायिक संस्थानहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको समाजका अध्यक्ष भीम अधिकारीले जानकारी दिएका छन् ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि धादिङ समाज युएईले थान बहादुर गुरुङको संयोजकत्वमा स्वयंसेवक समिति तथा कलाकार रीता लामाको संयोजकत्वमा अतिथि सत्कार समितिको समेत निर्माण गरेको छ ।