काठमाडौं, चैत ४ । एमाओवादीले कार्यकर्ताको वर्गिकरण गर्ने गरि नीति निर्माण लागि बृहत छलफल चलाएको बताईएको छ । ‘कार्यकर्ता सम्बन्धी नीति’ निर्माण गर्ने उद्देश्यले एमाओवादीले पार्टी मुख्यालयमा केन्द्रीय सदस्य तथा केही जिल्ला प्रमुखलाई बोलाएर छलफल गरिरहेको हो ।
छलफलमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाओवादीमा तीन तहका कार्यकर्ता रहनेसहितको विस्तृत कार्यकर्ता व्यवस्थापन नीतिसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ ।
“पार्टीको कार्यकर्ता सम्बन्धी नीतिलाई थप स्पष्ट, परिमार्जन र विकास गर्ने र यसलाई केन्द्रीय समितिको बैठकमा थप छलफलका लागि प्रस्तुत गरिने” एमाओवादीले जनाएको छ । प्रस्तावित नीतिमा एमाओवादीमा पूर्णकालिन, सक्रिय र अंशकालिन कार्यकर्ता गरी तीन किसिमका कार्यकर्ताको प्रस्तावना गरिएको छ ।
पूर्णकालिन कार्यकर्ताले पार्टीले दिएको जिम्मेवारीमा रही पूर्णरुपमा क्रियाशील पेशेवर क्रान्तिकारी बन्नुपर्ने उल्लेख छ । प्रस्ताव अनुसार, केन्द्रीय समितिमा सबै पूर्णकालिन सदस्य हुने र अन्य समितिमा अन्य प्रकारका सदस्य पनि हुन सक्ने बताइएको छ । पूर्णकालिन कार्यकर्ताले पार्टीले खटाएको कुनै पनि स्थान, कुनै पनि जिम्मेवारी र कुनैपनि बेला खट्न तयार रहनुपर्ने उल्लेख छ ।
यसैगरी प्रदेश र जनवर्गीय संगठनले समेत पूर्णकालिन कार्यकर्ता बनाउने निर्णय लिनसक्ने उल्लेख छ । तर जनवर्गीय संगठन र मोर्चाका हकमा भने पार्टीको पूर्णकालिन कार्यकर्ताका रुपमा मान्यता प्राप्त गर्न सम्बन्धित स्तरको पार्टी कमिटिले अनुमोदन गर्नुपर्ने प्रस्ताव श्रेष्ठको छ ।
कार्यकर्ता व्यवस्थापन
पूर्णकालिन कार्यकर्ताको जीवन निर्वाह र न्यूनतम आवश्यकता एमाओवादीले पुरा गर्ने, पार्टी कमिटि र जनवर्गीय संगठन एवं मोर्चाले -सम्बन्धित निकायमा क्रियाशील पूर्णकालिन कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने प्रस्तावमा छ ।
तर कतिपय अवस्थामा पार्टीका लागि महत्वपूर्ण र आर्थिकरुपमा अत्यन्तै कमजोर सक्रिय कार्यकताहरुको लागि आवश्यकता हेरेर पार्टीले आर्थिक सहयोग गर्न भने सक्नेछ ।
कार्यकर्ताको व्यवस्थापनका लागि लेबी, उत्पादनमूलक कार्य र अन्य सहयोगबाट प्राप्त हुने श्रोत उपयोग गरिने छ ।
पूर्णकालिन कार्यकर्ताभित्र पनि शहीद परिवार वेपत्ता योद्धा परिवारलाई विशेष व्यवस्थापन गर्ने बताइएको छ ।
सहकारी आन्दोलनसँग जोड्न पहल, स्थानीय आर्थिक उत्पादनमा संलग्न हुँदै पार्टीमा क्रियाशील हुन प्रोत्साहन, कार्यकर्ताको वैचारिक, राजनीतिक, सांस्कृतिक स्तर उठाउन पहल जस्ता कुरा समेत कार्यकर्ता व्यवस्थापन अन्तर्गत प्रस्ताव गरिएका छन् ।
कार्यकर्ताको मूल्यांकन
एमाओवादीभित्र कार्यकर्ताको उचित मूल्यांकन नभएको गुनासो व्यापक भएपछि कार्यकर्ता मूल्यांकनका केही आधारहरु प्रस्तुत गरिएका छन् । अब एमाओवादीभित्र यस बमोजिम मूल्यांकन हुने छ
-राष्ट्र जनता, वर्ग, क्रान्ति र पार्टीप्रतिको इमान र निष्ठा
-वैचारिक राजनैतिक स्पष्टता, प्रतिबद्धता र स्तर्
-वर्गसंघर्षको मोर्चामा अग्रता र सक्रियता
-दक्षता/प्रतिभा, गतिशिलता, नेतृत्व, कुशलता आदि ।
-कार्यशैली– जनवादी अभ्यास, सामूहिकता, मितव्ययी, अध्ययनशील, खोजमूलक आदि ।
-नैतिक सांस्कृतिक मूल्य– पारदर्शी, सर कम्युनिष्ट मूल्य अनुरुपको जीवन,
-उत्पीडित समुदायको अग्र प्रतिनिधित्व
-वरिष्ठता र संघर्षको इतिहास
पार्टी प्रवेश गराउँदाको नीति
एमाआवादीले कम्युनिष्ट आन्दोलन इतरका स्थापित व्यक्तिहरुलाई आधारभूत स्वच्छता र राजनीतिक चरित्र एवं प्रतिबद्धताको मूल्यांकनको आधारमा पार्टीमा प्रवेश गराउँदा आवश्यकता अनुसार अपनाउन सकिने विशेष नीति बनाउन समेत प्रस्तावमा जोड दिइएको छ ।
शान्तिपूर्ण प्रतिष्पर्धाका लागि त्यसप्रकारको स्थापित व्यक्तित्वहरुलाई पार्टीमा ल्याउन आवश्यक भएकोले त्यस्ता व्यक्तिलाई उम्मेदवार सदस्यको प्रक्रियाबाट मात्रै पार्टीमा प्रवेश गराउन नहुने कार्यकर्ता नीतिले बताएको छ । “त्यसको लागि विशेष व्यवस्था वैधानिकरुपमा नै गरी आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ” नीतिमा भनिएको छ ।