दुबइमा नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७२

उमाकान्त पाण्डे
यूएइ(दुबइ) , साउन २५ – संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको ज्यान गएको छ । चक्कु प्रहारबाट देबचुली १ नवलपरासीका रामबाहादुर लामाको गएको शुक्रबार राती ज्यान गएको हो ।
दुबइमा रहेको अल ओबेत क्युविसी कम्पनीमा ४ बर्ष पहिलेदेखि कार्यरत लामाको सोही कम्पनीमा सँगै काम गर्ने झापाका महेश उप्रेती (नाम परिवर्तन)ले चक्कु प्रहार गरेर हत्या गरेका हुन् । शुक्रबार यूएइको सार्वजनिक छुट्टीमा कम्पनीकै मजदुर क्याम्पमा जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिंदा नेपालीले चलाएको छुरी लागेर अर्का नेपालीको ज्यान गएको कम्पनीमा सगैं कार्यरत ओम लामाले उज्यालोलाई जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा सोही कम्पनीमा कार्यरत अन्य ६ जना नेपालीलाई प्रहरीले शुक्रबार राती नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । साथीहरुबीच सामान्य बिषयमा विवाद भएको तथा आफ्नो कुरामा सहमत नभएको भन्दै उप्रेतीले आवेशमा चक्कु प्रहार गर्दा लामाको पेट र शरीरका अन्य भागमा लागेको थियो ।
मृतक लामा र उनको हत्यामा आरोपित उप्रेती ४ वर्ष यता दुबइमा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा बस्दै आएका थिए । कम्पनीमा ड्राइभर पेशामा कार्यरत मृतक लामा र हत्या आरोपित उप्रेती पहिले निकै मिलनसार भएकाले आफ्नै सहकर्मीले यसरी हत्या समेत गर्न सक्ला भन्ने कल्पना पनि नगरेको सोही कम्पनीमा कार्यरत अन्य नेपालीहरु बताउँछन ।