दुबईमा अपरिचितले भेटाएको १२,७०० दिराम्स फिर्ता

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७२

रामप्रसाद ढुंगेल, दुबई– कुरा एक वा दुई सयको होइन, हजार–हजारको छ । एक दुई हजार पनि होइन, पूरै १२ हजार ७ सय दिराम्स । नेपालीमा लगभग ३ लाख पचास हजार । शुक्रबारे छुटटीमा अजमान एरियामा रहेका पाकिस्तानी नागरिक मोहम्द अयुबले एक पर्स भेटे । उक्त पर्समा थियो नगद १२ हजार ७ सय । साथमा इमिरेटस आइडी, पताका र अन्य कागजपत्रहरु । पैसाकै लागि परदेसिएका जोकोहीका लागि त्यो रकम अचानक हात लाग्दा खुसीको पारो चढ्न सक्छ ।

लामो समयदेखि अजमानको एक निर्माण कम्पनीमा कार्यरत लाहोर निवासी अयुबले पर्स भेटेपछि उनकै भाषामा भन्दा खुसी होइन, दुःख लाग्यो । दुःखसँगै यो पैसा कसरी सम्बन्धित मानिससम्म पुर्याउने भन्ने हुटहुटी पनि जाग्यो । बिरामी आमा र बिहे गर्न योग्य बहिनीको लागि संघर्ष गरिरहेको बताउने अयुबले पर्सभित्र भेटे एक भिजिटिङ कार्ड । कार्डमा नाम थियो रामप्रसाद गैरै, सेल्सम्यान, टिनो होल्डिग एलएलसी । कार्ड सँगै रहेको मोबाइलमा कल गर्दा भेटिए स्यांगजा बालिडका गैरे ।

कोठा सर्ने सिलसिलामा पर्स हराएपछि गहिरो तनावमा थिए गैरे । केही आफ्नै भए पनि अधिकांश रकम कम्पनीको बोकेका थिए उनले । करिब २४ घन्टासम्म पर्स नभेटिएपछि आशा मारिसकेका थिए गैरेले । तर उनको मोबाइलमा अपरिचित नम्बरबाट कल भोलिपल्ट आएको थियो । धेरै निराशा र थोरै आशा बोकी फोन रिसिभ गर्दा पर्स भेटिएको सूचना दिइरहेका थिए अयुबले । गैरेको निराशा स्वात्तै घट्यो, अनि तीन फुट माथि उफ्रिए कराउँदै । केहीबेरमा सकुशल पर्स लिएका अयुब र गैरेका साथ रहेका नेपाली साथीहरुको भेट भयो । गैरेले मोहम्मद अयूबको इमानदारिताको प्रसंशा गरे ।

गैरेले पुरस्कार स्वरुप ५ सय दिराम्स दिदा पनि उनले स्वीकार्न मानेनन् । आफ्नो पाखुराले गरेको र पसिना बगाएर कमाएको मात्र पवित्र कमाई हुन्छ र त्यो पैसा मात्र आफ्नु हुन्छ भन्ने मान्यता रहेको अयुबले बताए । नैतिकताको संकट र इमानदारिताको खडेरी परेका बेला यूएईको अजमानमा भएको यस घटनाका नायक मोहम्द अयुबलाई सलाम आलेकुम । सम्पूर्ण नेपालीहरुको तर्फबाट हार्दिक धन्यवाद ।