युएई आएको परराष्ट्रको टोली कामै नगरी फर्कियो

Avatar photo
Dhadingpost
सोमवार, असार २१, २०७२

उमाकान्त पाण्डे /यूएई, एमआरपीका लागि फारम सकंलन गर्न यूएई आएको टोली कामै नगरी फर्किएको छ । संयुत्त अरब एमिरेट्स यूएईमा रहेका नेपालीको एमआरपी फरम संकलनका लागि भन्दै परराष्ट्र मन्त्रालय मार्फत दुई सदस्यिय टोली गएको वैशाख पहिलो हप्ता युएई आएको थियो ।

विदेशस्थित नेपाली नियोग र त्यहाँ रहेका नेपाली समुदायसँगको सहकार्यमा एमआरपी फारम सकंलन गर्न भन्दै युएई आएको टोलीले एउटा घुम्ती सेवा बाहेक अन्य कुनै काम नगरी फर्किएको युएईमा रहेका सरोकारवाला संघसस्थाको भनाई छ । टोलीलाई यहाँका विभिन्न स्थानमा पुगेर घुम्ती सेवा प्रदान गर्ने जिम्मेवारी दिइएको थियो । तर टोलीले दुबईको अलकुजमा रहेको एक कम्पनीको मजदुर क्याम्पमा बाहेक अन्य स्थानमा घुम्ती सेवा दिन सकेन । नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहालको पहलमा उहाँ कार्यरत कम्पनीमा काम गर्ने १ सय ७० जना नेपालीको फारम सकंलन गरेको थियो ।

त्यस बाहेक टोलीले दूतावासमै बसेर दूतावासमा आएका सेवाग्रहीका मात्र फारम सकंलन गर्ने बाहेक अन्य काम नगरेको दूतावासको भनाई छ । दूतावासकै अधिकारीका अनुसार परराष्ट्रको टोलीले भत्ता खाएर दुबई घुमेर गएको आरोप लगाएका छन् । ‘जब कामको चाप धेरै थियो यहाँ रहेका संघसस्थाका प्रतिनिधि तथा नेपाली स्वयमसेवक बनेर काममा सहयोग गरे । एमआरपी आवेदक कम हुँदै गएपछि परराष्ट्रले टोली पठायो । युएईका लागि नेपाली राजदूत धनन्जय झाले भन्नुभयो’ पररास्ट्रको टोली लगन बिनाको पोते भयो ।

परराष्ट्रको टोली आउनेबारे दूतावासलाई समयमै जानकारी नगराएको र त्यसको पूर्व तयारी नभएकोले टोलीमार्फत घरदैलो अभियान चलाउन नसकिएको दूतावासको भनाई छ । परराष्ट्रको टोली युएई आउनुअघि राजदूत झाले टोली आउँदैमा एमआरपीको फारम संकलन गरेर नसकिने बताउँदै आउनुभएको थियो ।

परराष्ट्रले अधिकृत उद्दव न्यौपाने र नासु अरेन्द्र महर्जनलाई युएई पठाएको थियो । परराष्ट्रको टोली आउनुअघि नै यहाँ रहेका नेपाली संघसंस्थाको समन्वयमा दूतावासले फुजेराह र रसअलखेमामा आफ्नै कर्मचारी खटाएर एमआरपी फारम सकंलन गरेको थियो ।
तोकिएको समयसीमाभित्र हस्तलिखित राहदानीलाई प्रतिस्थापन गरी मेसिन रिडेबल राहदानी (एमआरपी) दिलाउने चुनौती दूतावासलाई थपिएका कारण परराष्ट्रको पहलमा टोली युएई आएको हो । दूतावासमा सेवाग्रहीको चाप बढेको र एमआरपी बनाउनु पर्ने समय नजिक आएकोले विदेशमा रहेका नेपालीलाई सहज होस् भनेर परराष्ट्रको पहलमा टोली युएई आएको थियो । तर टोली काम नै नगरी फर्किएपछि काममा चुनौती थपिएको छ ।