रामप्रसाद ढुंगेल, यूएई– प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा आत्महत्या गरेका सिन्धुली, दुधौली नगरपालिका–४ का सन्तोस भुजेलको परिवारलाई यूएई, कतार र साउदी अरबमा रहेका छिमेकीहरुले करिब 80 हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्राईले आफ्नै एरियामा रहेका नेपालीहरुबाट १ सय यूएई दिराम्सका दरले संकलन गरी ३५ हजार रुपैयाँ भूजेल परिवारसमक्ष पठाएको जानकारी दिएका छन् । त्यसरी नै कतारबाट सन्तोष बस्नेतको नेतृत्वमा २२ हजारभन्दा बढी रकम मृतक परिवारसमक्ष पठाइएको छ । साथै साउदी अरबबाट गोविन्द पौडेलको नेतृत्वमा पनि २० हजारभन्दा बढी सहयोग जुटेको जानकारी भट्राईले दिएका छन् । त्यसरी नै मलेसियाबाट २ हजार ५ सय सहयोग आएको जानकारी भुजेल परिवारले दिएको छ ।
काठमाडौंमा रहेकी रबिना (नाम परिवर्तन) नामकी पे्रमिकास‘ग लामै समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि भुजेलले गत महिना आत्महत्या गरेका थिए । आत्महत्यापछि प्राप्त सुसाइड नोटमा क्याम्पमा रहेका सुदिप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै सन्तोषले माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ भन्दै उनको मायाले आफूलाई मृत्युको नजिक पुर्याएको उल्लेख गरेका थिए । यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोसले सुसाइड नोटमा लेखेका थिए, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’
सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । कमाइ गर्ने छोराको आत्महत्याको कारण निम्न वर्गीय भुजेल परिवारको मानसिक र आर्थिक समस्या उत्पन्न भएपछि सहयोग अभियान चलाएको भएको भट्राईले बताए । दुई वर्षअघि मलेसिया गएका भुजेल परिवारका कान्छा छोरा अत्यन्तै इमानदार, सोझा र रहेको युएईमा रहेका भट्राईले बताए । परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवारमा पर्न गएको विपत्तिमा थोरै भए पनि राहत पुग्ने विश्वास सहयोगी भट्राईले लिएका छन् । हाल यूएईको एक सेक्युरिटी कम्पनीमा सेक्युरिटी अफिसरका रुपमा कार्यरत भट्राई गाउँसमाजमा आइपरेका परेका समस्यालाई परदेशबाट सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउछन् ।




