तीन नेपालीको शव खाडीमा अलपत्र

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १३, २०७१

काठमाडौ/ खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ। एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो। उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन्।
timthumb
डेढ वर्षअघि मलेसिया पुगेका तम्सरिया—५ का ४४ वर्षीय झिन्का थारुको यही माघ ४ मृत्यु भएको खबर आएपछि शव ल्याउन लागिपरेको मृतकका आफन्त युगनारायण थारुले बताए। मलेसियामै काम गरिरहेका कोल्हुवा–३ का ३२ वर्षीय पूर्णबहादुर विकको दुर्घटनामा परेर ज्यान गएको छ ।

यही माघ १० गते दुर्घटनामा परेर मृत्यु भएको खबर घरमा आएको हो। अवैधानिकरुपमा काम गरिरहेका विकलाई घर फिर्ता ल्याउन सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमार्फत पहल भइरहेको अवस्थामा उनको दुर्घटनामा मृत्यु भएको खबर आएपछि परिवार पूरै शोकमा छ।

वैदेशिक रोजगारमा जानेको अचानक मृत्यु भएको खबर लिएर आफन्तजन सूचना केन्द्र आउने गरेको केन्द्रकी पराशर्मदाता रञ्जना लम्सालले जानकारी दिइन्। साउदी अरब, कतार र मलेसियामा जाने ४० वर्षमुनिका युवकहरूको मृत्यु बढी हुने गरेको छ। त्यस्तै, पटना–८ कपिलबस्तुका हरिबहादुर चौधरीको साउदीमा मृत्यु भएको खबर आएको छ ।

उनको माघ २ गते मृत्यु भएको हो। नौ महिनाको अवधिमा १८ जनाको शव नेपाल ल्याउन सूचना केन्द्रले पहल गरेको परामर्शदाता लम्सालले बताइन्। यसरी अलपत्र भएका शवलाई प्रवासी नेपाली समन्वय समिति, सामी हेल्भेटास र दूतावासको सहयोगमा ल्याउन लागिएको हो। रासस