अफ्रिका र अमेरिकी संगीतमा बाँसुरीको धुन मिसाउँदै बिनोद (भिडियाेसहित)

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

बार्सिलोना । बाँसुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाउदै युरोपमा दिनहरु बिताउदै छन् बासुरी बाधक बिनोद कटुवाल। उनले तयार गरेका संगीतका धुनहरु सुन्दा बिदेशीहरू पनि आकर्षित भएका छन् ।

स्पेनमा बिगत ४ बर्ष देखि बस्दै आएका उनले बार्सिलोनामा खोलिएका रासाकान र आमानान्तु ब्याण्ड सँग मिलेर बिदेशी संगीतमा बासुरीको धुन मिसाएका छन्। रासाकानमा उनीसँगै स्पेनिस कातालान नागरिक रुईज दिदाक र जर्मनी नागरिक मार्क लोपेस्को पनि छन्।

अफ्रिकाको गीत संगीतमा बासुरीको धुन मिसाएर उनीहरुले रासाकन एल्बम पनि तयार गरेका छन्। कोरा,जेम्बे (अफ्रिकी ड्रम), मुर्चुङ्गा लगायतका बाजाको साथमा बाँसुरीको धुन मिसाइएको छ। उनको समूहले बार्सिलोना मात्र नभई स्पेनका बिभिन्न शहरहरुमा आफ्नो प्रस्तुति राख्दै आएको छ ।

‘मलाई फ्यूजन मन पर्छ, यो ब्याण्डसँग तीन बर्ष जति बिताए काम गर्दा अति आनन्द लाग्छ,’ उनले भने, “मैले बासुरी बजाएको देखेको रहेछन् पछि कुरा गर्न आए, सँगै काम गरौ भने गरियो। शुरुमा काम गर्दा कस्तो हुने हो ? भन्ने खुल्दुली लाग्थ्यो तर पछिपछि त राम्रै भयो सबैले मन पराए।” आफूलाई पहिले अफ्रिकन संगीत सुन्दा अचम्म लाग्ने गरेकोमा काम गर्दै जादा सारै मन परेको उनले बताए।

आमानान्तु अर्को ब्याण्डको नाम जसले साउथ अमेरिकन राष्ट्रहरु भेनेजुयला र चिलीको प्रचलित संगीतसँग बाँसुरीको धुन मिसाउदै प्रस्तुतीहरु राख्दै आएको छ। कटुवालले यही समुहसँग मिलेर ओजोरा फेस्टिबलमा हंगेरीसमेत पुगेर बाँसुरीको धुन सुनाए। नेपाली संगीतसँग यो अलि मिल्दोजुल्दो पनि रहेको भन्दै उनले काम गर्दा अलि सजिलो भएको प्रतिक्रिया दिए । यो ब्याण्डमा उनी लगायत अन्य ४ जना बिदेशीहरु नै रहेका छन्।

binod-2बिस २०३६ साल माघ ४ गति कीर्तिपुर-१३, चोभारमा जन्मिएका उनी सानैदेखि संगीतका सौखिन थिए । उनले आफ्नो स्कुल जीवन कीर्तिपुरकै पाँगा माविमा बिताए। स्कुलमा छँदा कक्षा ५ देखि नै गुरुरमन मर्हजनसँग बाँसुरी सिकेको उनी बताउँछन्। मलाई संगीत धेरै नै मन पर्थ्यो सानो छँदा मादल खुब बजाईथ्यो तर यसरी बाँसुरीमा नै चाख बढ्छ जस्तो लाग्दैनथ्यो, उनी भन्छन्, बिस्तारै प्रतियोगिताहरुमा भाग लिन थालियो अनि हौसला पनि बढ्न थाल्यो। त्यसैले मैले बिस्तारै संगीतको अध्ययन गर्न थालें । त्यसको लागि ईन्दिरा संगीतमा हिन्दुस्तानी शास्त्रीय संगीत सिक्न थालें, जसले मेरो जीवनमा बाँसुरी बाधक नै बन्ने मोड ल्याईदियो । काठमाडौ क्याम्पसबाट प्रमाणपत्र तह र त्रिचन्द कलेजबाट स्नातक सम्मको अध्ययन गरेका उनलाई पारिबारिक रुपमा संगीतको लागि ठूलो सहयोग मिलेको बताउँछन्।

बिदेशमा रहदा मात्र उनको संगीतप्रतिको चाख बढेको होइन । १८ बर्षे संगीतको यात्रा पार गरिसकेका कटुवालको स्वदेशमा रहँदाको सांगीतिक यात्रा पनि सम्झनलायक छ । प्रसिद्ध गितारबाधक तथा संगीतकार अनिल शाहीसँग ईमेज अवार्डदेखि थुप्रै स्टेज कार्यक्रमहरुमा पनि प्रस्तुति राखेको उनी बताउँछन्। केही लोक दोहोरी गीतहरुमा लगायत शाही कै रागमणी एल्वममा पनि उनको बाँसुरीको धुन सुन्न पाईन्छ। अफ्रिकन बाजाहरु प्रयोग गर्दै उनले आफ्नै एल्बम बाँसुरी पनि बजारमा ल्याएका छन्। एल्बममा रहेको धुन म्याजिक साउण्ड अफ काठमाडौ निकै चर्चित बन्यो। उनले सन् २००९ तिर एल्बम तयार गरेका थिए।

बिनोदले ठमेलमा गीत गाउँदै गर्दा एक रसियन नागरिक सानी भेन्कानारलार्इ भेटाएका थिए । श्रीमानसँगै नेपाल घुम्न आएकी उनले बिनोदको बाँसुरीको धुनलाई प्रयोग गर्दै एउटा भिडियो तयार गरिदिइन्। आफ्नै श्रीमानलाई खिच्न लगाएर उनको निर्देशनमा बनेको भिडियो यूट्युबमा निकै लोकप्रिय बनेको थियो । सोही धुनलाई पनि उनले बाँसुरी एल्बममा समाबेश गरे। भिडियोलाई ३ लाख ५८ हजार भन्दा बढी पटक हेरिएको छ।

कटुवालले भने “मनबाट नै फुरेर आउने हुदा झन् संगीतप्रतिको लगाव बढ्ने रहेछ। नेपाली भूमिमा अहिले नभए पनि आफ्नो पहिचानको बाँसुरीको धुन बिदेशी माझ फैलाउन पाएकोमा उनले खुशी ब्यक्त गरे ।