सदरमुकाम धादिङबेसीमा किन सर्यो ? कस्तो थियो पुरानो सदरमुकाम

Avatar photo
Dhadingpost
बिहिबार, माघ २१, २०७२

नारायण सिलवाल, सुनौलाबजार माघ २१ गते । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी पछि सरेको भन्ने सबैलाई जानकारी नै छ । तर किन के कारण पुरानो ठाउँबाट धादिङबेसी सर्यो त ? अहिले के छ पुरानो सदरमुकामको स्थिति यसबारे हामीले केहि तथ्य सहित खोतल्ने कोसिर गरेका छौ ।
धादिङ जिल्लाको सदरमुकामबाट अहिले कच्ची सडक १७ किलो मिटर मात्र छ, पैदल हिड्दा पनि साढे दुई घण्टामा पुग्न सकिन्छ, पुरानो सदरमुकाम सुनौलाबजार ।
भैरवी मन्दिरले ख्याती कमाएको गाविस हो, यो सुनौलाबजार । पृथ्वीनारायण शाहाले नुवाकोट आक्रमण गर्न यहि भैरवि मन्दिर र यस नजिकै करिब १५ मिनेट टाढा रहेको सुनौलाबजारमा बसेर योजना बनाएका थिए । सुनौला बजारमा, जव पृथ्वीनाराण शाहा आउन थाले अनि त्यहाँ जनघनत्वले ठाउँ लिएको बताईन्छ ।
पुरानो सदरमुकामको सुरुवात
जव विक्रम सम्बत् १९४७ सालमा धादिङ बेनिघाटको ईराङबाट जंगी अड्डा सुनौलाबजार सारियो तव याहाँ सदरमुकामको लागि आधारबनेको बताईन्छ । त्यसोत नुवाकोट आक्रमण गर्न पृथ्वीनारायण साहाले किन सुनौलाबजारको टाकुरा नै रोजे यस विषयमा हाम्रो खोज पुरा हुन सकेन ।
विक्रम सम्बत् १९४० तिर औलो रोगले माहामारीको रुप लिएको थियो । त्यहि बेला भैरवी मन्दिर उच्च स्थानमा रहेको भुभाग त्यसमा पनि उपत्यका जस्तो उक्त सुन्दर र सुरक्षित स्थान रहेको आभाष गरि वासोबास भएको आकलन गर्न सकिन्छ । उक्त स्थानमा बाक्लो बस्ती रहेकोले पनि पृथ्नी नारायण शाहाले कोट कोटमा बासस्थान बनाउने शिलशिलामा यहाँ आएको भन्ने बनाई पनि पाईयो ।
१९८० सालमा पहिलो सिडियोको रुपमा विष्णुकुमार वेन्जु आए त्यस पछि भैरवि मन्दिर र सरकारी कार्यालयहरु विस्तार भएको थियो ।
कहिले किन सर्यो ? सदरमुकाम धादिङबेसी
अहिले पनि बुढापाकाहरु सुनौलाबजार स्थिति पुरानो सदरमुकामलाई पुरानो धादिङका रुपमा चिन्छन् ।
पुरानो धादिङ भौगोलीक हिसावले यातायातको पहुँच र ढुवानीको समस्या साथै औलो रोग नियन्त्रण भएकोले वेसी सरेको बताईन्छ ।
२०३२ सालमा सदरमुकाम धादिङबेसी सरे पछि त्यहाका ८० प्रतिशद मान्छे सँगै बेसी झरेका थिए । अहिले सदरमुकाममा उनीहरु अरबौंको मानिक बनि सकेका छन् । तर पुरानै धादिङमा बस्ने २० प्रतिशद मानिसहरुको जीवन स्तर गुणात्मक विकास भएको देखिदैन । जिल्ला कै पुरानो विद्यालय भैरवी उच्च मावि अहिले पनि कायमै छ । यस विद्यालयले कम्प्यूटर शिक्षा पनि दिदै आएको छ । खाने पानिको चरम अभाव रहेको यस् स्थानका गाउँहरुको सक्रियतामा लिफ्ट सिस्टममा पानी तानेर २ सय ३३ घर धुरीले पानीलाई सहज बनाएका छन् ।
ओझेलमा पुरानो धादिङ
ईतिहास रक्षाका लागि पुरानो सदरमुकामका अवशेषहरु समक्षण भएको पाईदैन । न त सरकारी पक्षबाट नत स्थानिय स्तरबाटै पुराना जस्तै पृथ्वीनारायण शाहाले बनाएका दरबार, त्यहाँ संस्चालित सरकारी कार्यालयका अवशेषहरुलाई सम्रक्षण गरेको देखिदैन ।
एउटा काल खण्डमा पुरै धादिङ नेतृत्व गरेको पुरानो धादिङ पर्यटनका हिसावले सुचिकृत गर्न लायक ठाउँ हो । यस नजिकै पर्यटकीय भैरवि मन्दिर रहेकोले पनि यस ठाउँलाई सम्रक्षण गर्न सकिए यो ठाउँले आन्तरिक तथा वाह्य पर्यटकहरु थग्न नसकिने गरि नआउलान भन्न सकिन्न । हाम्रो जिल्लाका अधिकांस विद्यालयहरु शैक्षिक भ्रमणको लागि लाखौं रकम खर्च गरेर अन्यत्र जाने गर्छन् तर हाम्रै पुरानो सदरमुकाम र भैरवि मन्दिर किन अवलोकल गराउँदैनौ । यस विषयमा सबैले एकपटक सोच्ने हो कि ।
(स्थानिय ८५ वर्षिय बालकृष्ण लाहाल, ६३ वार्षिय शारदाशंकर भण्डारी, शिक्षक कृष्ण कुमार श्रेष्ठ सँग पुरानो सदरमुकाममा बसेर गरेको कुराकानीको आधारमा)