कांग्रेस सभापति गगन थापा आज धादिङ आउँदै, फुर्केखोलाको पन्टुन ब्रिज पनि अवलोकन गर्ने

Avatar photo
Dhadingpost
मंसिर ६, २०८३

धादिङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज (मंसिर ६ गते) बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न धादिङ आउने भएका छन् ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित धादिङका विभिन्न क्षेत्रको अवस्था बुझ्न सभापति थापा जिल्ला आउन लागेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रामनाथ अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा थापाले बाढी प्रभावित नागरिकको अवस्था, पुनर्स्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको प्रगतिबारे जानकारी लिनेछन् । साथै प्रभावित क्षेत्रको वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने आवश्यक कदमबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस धादिङका नेता नवराज तिमल्सिनाका अनुसार सभापति थापा बेत्रावती, त्रिशूली होल्डिङ सेन्टर र देवीघाट हुँदै धादिङ प्रवेश गर्नेछन् । त्यसपछि गल्छी र गजुरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै फुर्केखोलासम्म पुग्ने कार्यक्रम रहेको छ ।

फुर्केखोलामा निर्माण सुरु भएको अस्थायी पन्टुन ब्रिज (पोन्टुन पुल) को समेत सभापति थापाले अवलोकन गर्ने नेता तिमल्सिनाले बताए । बाढीले पुर्‍याएको क्षतिपछि प्रभावित क्षेत्रको आवागमन सहज बनाउन निर्माण थालिएको उक्त अस्थायी पुलको अवस्थाबारे पनि उनले जानकारी लिनेछन् ।

निर्धारित कार्यतालिकाअनुसार थापा आज दिउँसो ३ बजे गल्छी गाउँपालिकाको गल्छी चोकमा पुग्नेछन् । त्यसपछि गजुरी गाउँपालिकास्थित फुर्केखोलासम्म पुगेर बाढी प्रभावित क्षेत्र र निर्माणाधीन अस्थायी पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला कार्यसमितिले सभापति थापाको भ्रमणका अवसरमा धादिङस्थित पार्टीका सबै तहका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, स्थानीयवासी र शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

भदौ १० गतेको बाढीले धादिङका विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना, सडक तथा पुल पूर्वाधारको पुनर्निर्माण र आवागमन सहज बनाउने विषय अझै महत्वपूर्ण चुनौतीका रूपमा रहेका छन् ।