
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–फुलखर्कका २६ वर्षीय युवा पर्यटन उद्यमी अनिल अधिकारीले चालु पर्यटन सिजनमा आफ्नो कम्पनीमार्फत ५६० जना विदेशी पर्यटकलाई नेपाल भित्र्याएका छन् । काठमाडौंमा Glorious Eco Trek Nepal सञ्चालन गर्दै आएका अधिकारीले यस वर्ष गत सिजनको तुलनामा पर्यटक आगमन घटेको बताएका छन् ।

अधिकारीका अनुसार गत पर्यटन सिजनमा उनको कम्पनीमार्फत ९०० जना विदेशी पर्यटक नेपाल आएका थिए । तर यस वर्ष भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी, पदमार्गमा पुगेको क्षति र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सुरक्षाबारे देखिएको धारणाका कारण पर्यटकको बुकिङ प्रभावित भएको हो ।
विशेषगरी तिब्बतबाट आएको बाढीपछि मनास्लु क्षेत्रमा पनि बाढीको असर देखिएको र त्यसपछि बुकिङ गरेका धेरै समूहले भ्रमण रद्द गरेको अधिकारीले बताए । मनास्लुमा दुई महिनासम्म राम्रो पर्यटक गतिविधि भए पनि बाढीपछि अवस्था बदलिएको उनको भनाइ छ ।
त्यस्तै, रसुवामा आएको बाढीका कारण लाङटाङ पदमार्गमा पदयात्रा प्रभावित हुँदा त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले समेत बुकिङ रद्द गरेका थिए । यस वर्ष लाङटाङ क्षेत्रमा नयाँ बुकिङ गर्न पर्यटकहरू हिच्किचाएको अधिकारीले बताए ।

‘एभरेस्ट क्षेत्रमा तुलनात्मक रूपमा पर्यटक बढी आए । अन्नपूर्ण क्षेत्रमा पनि पर्यटकको चहलपहल रह्यो । तर मनास्लुमा बाढी आएपछि धेरै समूहको बुकिङ रद्द भयो । लाङटाङमा पनि बाढीका कारण पदयात्रा सम्भव भएन,’ उनले भने ।
उनका अनुसार यस वर्ष अमेरिका तथा युरोपबाट आउने उच्च खर्च गर्ने पर्यटकको संख्या अपेक्षाकृत कम रह्यो । अमेरिकाले एकपटक नेपाललाई सुरक्षित यात्रा गन्तव्य नभएको भन्दै सूचना जारी गरेपछि पनि केही पर्यटकको निर्णय प्रभावित भएको उनको अनुभव छ । यद्यपि पछिल्लो समय अवस्था सुधार हुँदै गएको उनले बताए ।

अधिकारीले भने, ‘समग्र पर्यटन क्षेत्र नै बाढीका कारण प्रभावित भएको हो । यसपटक अघिल्लो सिजनको तुलनामा मेरो व्यवसायमा पनि पर्यटक केही कम आए । तर अरू साथीहरूको अनुभव सुन्दा धेरैको व्यवसायमा अझ बढी असर परेको छ ।’
डिसेम्बरको पहिलो सातादेखि चालु पर्यटन सिजनको मुख्य गतिविधि सकिने भए पनि आगामी वर्षका लागि भने बुकिङ र सोधपुछ राम्रो आइरहेको अधिकारीले बताए । अहिले लाङटाङ र मनास्लुका पदमार्गसमेत खुलिसकेकाले आगामी सिजनमा यी क्षेत्रमा पुनः पर्यटकको चहलपहल बढ्ने उनको अपेक्षा छ ।
‘अर्को वर्षका लागि अहिले नै राम्रो इन्क्वायरी र बुकिङ आइरहेको छ । लाङटाङ र मनास्लुका बाटाहरू पनि खुलेका छन् । त्यसैले आगामी सिजनमा सबै क्षेत्रमा पदयात्रा राम्रो हुने विश्वास लिएको छु,’ उनले भने ।

पर्यटन उद्यमसँगै सामाजिक सेवामा पनि सक्रिय
पर्यटन व्यवसायमा सक्रिय अधिकारीले सामाजिक अभियन्ताका रूपमा समेत आफ्नो परिचय बनाएका छन् । आफ्नो जन्मथलो धादिङसहित विभिन्न सामाजिक गतिविधिमा संलग्न हुँदै आएका उनले यसअघि धादिङका ३०० भन्दा बढी चेपाङ बालबालिकालाई विद्यालय पोसाक वितरण गरेका थिए ।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेका थिए ।
२६ वर्षकै उमेरमा पर्यटन व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय अधिकारीको प्रयासले धादिङका युवाहरूमा उद्यमशीलता र सामाजिक उत्तरदायित्वप्रतिको सक्रियतालाई पनि उजागर गरेको छ ।
