
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धादिङका पाँच पालिकामा राष्ट्रिय जनजागरण अभियान उद्घाटन गरेको छ । पार्टीले धुनीबेसी, थाक्रे, गजुरी, बेनीघाट रोराङ र सिद्धलेकमा अभियान सुरु गरेको हो ।
धुनीबेसी र थाक्रेमा पार्टी नेता राजेन्द्र पाण्डेले अभियान उद्घाटन गरेका हुन् । थाक्रेमा पार्टी कार्यालय उद्घाटनसँगै जनजागरण अभियान पनि शुभारम्भ गरिएको थियो ।
त्यसैगरी, गजुरीमा नेता शालिकराम जम्कट्टेलले अभियान उद्घाटन गरेका थिए । बेनीघाट रोराङ र सिद्धलेकमा पनि अभियानको उद्घाटन गरिएको नेकपाले जनाएको छ ।
नेकपा धादिङका जिल्ला सहसंयोजक दीपक लामिछाने ‘सुबोध’का अनुसार धादिङ क्षेत्र नं. १ अन्तर्गत गल्छीमा मंसिर २ गते अभियान उद्घाटन गरिनेछ । क्षेत्र नं. २ अन्तर्गतका सबै पालिकामा पनि यही साता अभियान सुरु गरिने उनले बताए ।
नेकपा केन्द्रले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्न परिपत्र गरेको थियो । तर, धादिङमा भने अभियान निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको हो ।
संगठन सुदृढीकरणदेखि सरकारविरुद्ध खबरदारीसम्मका उद्देश्य
नेकपाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन सुदृढीकरण, सदस्यता नवीकरण र जनसमर्थन विस्तारलाई अभियानको प्राथमिकतामा राखेको छ ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत प्राप्त गरेपछि पार्टीले आगामी निर्वाचनमा आफ्नो राजनीतिक प्रभाव र जनमत जोगाउने रणनीतिसहित अभियान अघि बढाएको देखिन्छ ।
अभियानमार्फत पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिने, सांगठनिक समायोजन टुंग्याउने तथा विगतका कमीकमजोरीप्रति आत्मालोचना गर्दै सुधारको प्रतिबद्धता व्यक्त गर्ने नेकपाको योजना छ ।
त्यस्तै, जनताको घरदैलोमा पुगेर गुनासा सुन्ने, उनीहरूले आगामी निर्वाचनमा कस्तो उम्मेदवार चाहन्छन् भन्ने विषयमा सुझाव संकलन गर्ने पनि अभियानको उद्देश्य रहेको छ ।
नेकपाले देशमा बढ्दो महँगी, कालोबजारी तथा सरकारका जनविरोधी कामविरुद्ध खबरदारी गर्ने र आवश्यकताअनुसार आन्दोलनको तयारी गर्ने विषयलाई समेत अभियानमा समेटेको छ ।

