रास्वपा धादिङद्वारा पाँच विभागका लागि आवेदन खुला

Avatar photo
Dhadingpost
मंसिर १, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले पार्टीका पाँचवटा विभागमा सदस्य मनोनयनका लागि आवेदन खुला गरेको छ । जिल्ला सभापति राजन अर्यालले जनाएअनुसार विभागीय सदस्यका लागि जिल्लाभरिका पार्टी सदस्यले खुला रूपमा आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।

पार्टीले संगठन विभाग, स्वदेश सम्पर्क विभाग, अभियान तथा प्रचारप्रसार विभाग, युवा सशक्तीकरण तथा खेलकुद विभाग र र्‍यापिड एक्सन टिम (RAT) का लागि आवेदन माग गरेको छ ।

अर्यालका अनुसार संगठन विभागमा जिल्लाभरिका सांगठनिक गतिविधिमा सक्रिय हुन सक्ने, राम्रो राजनीतिक चेतना भएको तथा पार्टीभित्र समाजका स्वतन्त्र व्यक्ति र अन्य राजनीतिक दलका सक्षम व्यक्तिलाई आकर्षित गर्न सक्ने क्षमता भएका सदस्यलाई प्राथमिकता दिइनेछ ।

त्यस्तै, स्वदेश सम्पर्क विभागका लागि विभिन्न सहरमा फरक–फरक पेसा तथा व्यवसायमा स्थापित र सामाजिक कार्यमा परिचित सदस्यलाई प्राथमिकता दिइनेछ ।

अभियान तथा प्रचारप्रसार विभागमा डिजिटल प्लेटफर्मको प्रभावकारी सदुपयोग गर्न सक्ने र पार्टीका गतिविधि तथा कार्यक्रमको प्रचारप्रसारमा सक्रिय हुन सक्ने सदस्यलाई प्राथमिकता दिइने अर्यालले बताए।

युवा सशक्तीकरण तथा खेलकुद विभागमा युवाका आवाज उठाउन सक्ने, खेलप्रेमी तथा खेलाडीहरूलाई समेट्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, र्‍यापिड एक्सन टिम (RAT) मा धैर्यपूर्वक र नियमसंगत ढंगले समाजमा हुने घटनामा प्रस्तुत हुन सक्ने, दुःख–विपद्का समयमा सक्रिय हुने तथा सामाजिक विसंगति र भ्रष्टाचारविरुद्ध रचनात्मक रूपमा आवाज उठाउन सक्ने सदस्यलाई समेटिने उनले जानकारी दिए ।

इच्छुक पार्टी सदस्यले आजदेखि मंसिर ७ गतेसम्म जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन् । डिजिटल माध्यमबाट आवेदन दिन चाहने सदस्यले जिल्ला सचिवको ह्वाट्सएप नम्बर ९८१३२९५६१४ मा सम्पर्क गर्न सक्नेछन् ।

अर्यालका अनुसार जिल्ला समितिको दोस्रो सातामा बस्ने बैठकले पहिलो चरणमा विभागीय सदस्यहरूको मनोनयन गर्नेछ ।