धादिङमा जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग हुने

Avatar photo
Dhadingpost
कार्तिक २८, २०८३

धादिङ । धादिङ जिल्ला भलिबल संघले आगामी पुस ९ गतेदेखि १२ गतेसम्म जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल लिग प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा धादिङ जिल्लाका १३ वटै स्थानीय तहका पुरुष भलिबल टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । जिल्लाभित्र भलिबल खेलको विकास, उत्कृष्ट खेलाडीको पहिचान तथा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका सचिव उत्तम भट्टले धादिङपोष्टलाई बताए ।

प्रतियोगिताको पुरस्कार राशि सम्बन्धमा संघमा छलफल भइरहेको छ । प्रस्तावित पुरस्कारअनुसार प्रथम हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ, द्वितीय हुने टोलीले ६६ हजार ६६६ रुपैयाँ तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले प्रति टोली ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । आर्थिक स्रोत सुनिश्चित हुन सके पुरस्कार राशि थप बढाउने विषयमा समेत छलफल भइरहेको सचिव भट्टले जानकारी दिए ।

धादिङ जिल्ला भलिबल संघले गत वर्ष बागमती प्रदेशस्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ आयोजना गरेको थियो । उक्त प्रतियोगितामा धादिङले सिन्धुपाल्चोकलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।