छठको रौनक सुरु, चार दिनसम्म सूर्य उपासनामा रमाउँदै श्रद्धालु

Avatar photo
Dhadingpost
कार्तिक २७, २०८३

धादिङ । लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको पर्व छठको रौनक सुरु भएको छ । मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा श्रद्धा, निष्ठा र कठोर अनुशासनका साथ मनाइने चारदिने छठ पर्वको तयारी र चहलपहल बढेको छ ।

छठ पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नु हो । प्रकृति र सूर्यप्रति कृतज्ञता प्रकट गर्ने यस पर्वमा जातीय, धार्मिक तथा सामाजिक विभेदभन्दा माथि उठेर विभिन्न समुदायका मानिस एउटै घाटमा सहभागी हुने गर्छन् । सामाजिक सद्भाव र एकताको सन्देश दिने छठलाई विशेष श्रद्धाका साथ मनाइन्छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय, दोस्रो दिन शनिबार खरना, तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् सम्पन्न हुन्छ ।

पर्व सुरु हुनुअघि नै व्रतालुहरूले माछामासु तथा तामसी भोजन त्यागेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने परम्परा छ । पहिलो दिन स्नान गरी शुद्ध भोजन गरिन्छ । दोस्रो दिन दिनभर निराहार बसेर साँझ पूजा गरेपछि खिर तथा फलाहार ग्रहण गरिन्छ, जसलाई खरना भनिन्छ । खरनापछि सुरु हुने निर्जला व्रतमा व्रतालुहरूले अन्न र जलसमेत ग्रहण गर्दैनन् ।

षष्ठीका दिन बिहानैदेखि घरघरमा छठका प्रसाद तयार पार्ने चटारो हुन्छ । ठकुवा, भुसुवा, लड्डु, फलफूल, उखु, नरिवललगायत सामग्री बाँसबाट बनेका ढकिया, नाङ्लो र सुपतीमा सजाएर घाटसम्म पुर्‍याइन्छ । करिब ३६ देखि ४० घण्टासम्म निर्जला व्रत बसेर व्रतालुहरूले जलाशयमा उभिँदै अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।

पुत्र प्राप्ति, पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ श्रद्धालुहरूले छठ पर्व मनाउँदै आएका छन् । सूर्य उपासना, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई समेत जीवन्त बनाउँदै आएको छ ।