धादिङमा चौंथो त्रिपुरासुन्दरी गोल्डकप फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
कार्तिक २६, २०८३

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रसिद्ध धार्मिक शक्तिपीठ भगवती त्रिपुरासुन्दरी माईको मेलाको अवसरमा चौंथो त्रिपुरासुन्दरी गोल्डकप फुटबल प्रतियोगिता त्रिपुरासुन्दरी ६ हाँसेपसलमा खेलमैदानमा  आयोजना हुने भएको छ ।

गणेशस्थान युवा क्लबले आफ्नो फेसबुकमार्फत प्रतियोगिताको जानकारी सार्वजनिक गरेको हो । क्लबले यसअघि तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटस्थित भगवती मन्दिर परिसरमा मंसिर २३ गतेदेखि सुरु हुने मेला गाउँपालिका–६, सल्यानबेसीस्थित भगवती मन्दिरमा मंसिर २४ गते बिहान माई झारेसँगै विविध कार्यक्रम गरी सम्पन्न हुनेछ । सोही मेलाको अवसरमा मेला परिसर नजिकै फुटबल प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।

यसअघि आयोजित तेस्रो त्रिपुरासुन्दरी गोल्डकप–२०८१ को उपाधि त्रिपुरा सेभेन होर्सेस आगिन्चोकले गणेशस्थान युवा क्लबलाई पराजित गर्दै जितेको थियो ।

त्यस्तै, दोस्रो त्रिपुरासुन्दरी गोल्डकप–२०८० को उपाधि डाँडागाउँ (NYC) ले जितेको थियो भने लपाङ युवा क्लब (LYC) लपाङ उपविजेता बनेको थियो ।

प्रतियोगिताको पहिलो संस्करण अर्थात् प्रथम त्रिपुरासुन्दरी गोल्डकप–२०७९ को उपाधि भने आयोजक गणेशस्थान युवा क्लब (GYC) आफैँले जितेको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको त्रिपुरासुन्दरी मेला र गोल्डकप प्रतियोगिताले स्थानीय खेलकुद तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ ।