देउवा कांग्रेस धादिङद्वारा उम्मेदवारलाई ५ बुँदे सर्कुलर

Avatar photo
Dhadingpost
कार्तिक २८, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङको १५ औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला निर्वाचन समितिले विभिन्न पदका उम्मेदवारहरूका लागि ५ बुँदे सर्कुलर जारी गरेको छ ।

जिल्ला निर्वाचन अधिकृत रामचन्द्र भट्टद्वारा हस्ताक्षरित सूचनामा वडा, प्रदेश तथा क्षेत्रीय अधिवेशनबाट प्राप्त कागजात अध्ययन गर्दा कतिपय उम्मेदवारले विधि र प्रक्रिया पूरा नगरेको देखिएको उल्लेख छ । समितिले क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, गाउँपालिका तथा नगरपालिका सभापति, प्रदेश, क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिलगायतका पदमा उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारलाई आवश्यक कागजी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।

निर्वाचन समितिले उम्मेदवारहरूका लागि पाँच बुँदे कागजी प्रक्रिया सार्वजनिक गरेको छ । जसअनुसार उम्मेदवारी फाराम विधिपूर्वक भरेको हुनुपर्ने, फारामसँग मतदाता परिचयपत्र (भोटर कार्ड) को प्रतिलिपि संलग्न गर्नुपर्ने, निर्वाचन निर्देशिकामा तोकिएबमोजिमको दस्तुर बुझाएको रसिद पेश गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, सबै उम्मेदवारी फाराममा क्रियाशील सदस्यता नम्बर, फोन नम्बर तथा समर्थक र प्रस्तावकको सहीछाप अनिवार्य गरिएको छ । यी विवरण नभएमा नयाँ फाराम भर्नुपर्ने समितिले जनाएको छ । उम्मेदवारहरूले सम्बन्धित अधिवेशनको माइन्यूटको फोटोकपीसमेत बुझाउनुपर्नेछ ।

यसैबीच, १५ औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजक गोपाल विश्वकर्माले मिति २०८३ कात्तिक २७ गते अर्को पत्र जारी गर्दै महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा प्रदेश सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् ।

बागमती प्रदेश अधिवेशनका प्रतिनिधि छनोट गरी मंसिर १ गतेभित्र पठाउनुपर्ने, जिल्ला निर्वाचन संयोजक भट्टद्वारा जारी पाँच बुँदे कागजातसम्बन्धी विषयमा छलफल गर्नुपर्ने तथा जिल्ला कार्यसमितिका पदाधिकारीसम्बन्धी छलफल गरी निर्णय लिनुपर्ने भएकाले कार्तिक ३० गते बिहान ११ बजे जिल्ला सम्पर्क कार्यालयमा बैठक बोलाइएको पत्रमा उल्लेख छ ।

यसैबीच, नेपाली कांग्रेस धादिङको गगन पक्षले जिल्ला अधिवेशनको तयारी गरिरहेको छ । देउवा पक्षको कांग्रेस धादिङले भने गत कात्तिक १५ गते जिल्ला अधिवेशन उद्घाटन गरी निर्वाचन प्रक्रिया सुरु गरेको थियो । तर निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा अधिवेशन स्थगित भएको थियो । त्यसपछि रोकिएको अधिवेशन प्रक्रिया अघि बढाउने क्रममा निर्वाचन समितिले उम्मेदवारहरूका लागि पाँच बुँदे सर्कुलर जारी गरेको हो ।