आजबाट तिहार सुरु, कागको पूजा गरिँदै

Avatar photo
Dhadingpost
कार्तिक २१, २०८३

धादिङ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चकको पहिलो दिन काग तिहार मनाउने परम्परा छ । हिन्दू धर्म र संस्कृतिमा कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । कागलाई पूजा गर्दा यमराज प्रसन्न हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

तिहारको पहिलो दिन कागलाई मिठा परिकार तथा खानेकुरा दिएर पूजा गर्ने चलन छ । कागलाई यमराजको दूत मानिने भएकाले यस दिन कागको पूजा गरी सम्मान गरिन्छ ।

तिहारको पहिलो दिन काग तिहारसँगै सुरु भएको यमपञ्चकमा क्रमशः कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा तथा भाइटीका मनाइन्छ ।