छैटौँ कुपा कपको फाइनल भोलि, मेन्दोफोले र रातमाटे उपाधिका लागि भिड्ने

Avatar photo
Dhadingpost
कार्तिक ८, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा जारी छैटौँ कुपा कप ७ ए साइड खुला नकआउट फुटबल प्रतियोगिता–२०८३ को फाइनलमा मेन्दोफोले युवा क्लब र रातमाटे युवा क्लब भिड्ने भएका छन् ।

शनिबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । मेन्दोफोले युवा क्लब र नुवाकोटको किस्पाङ गाउँपालिका–भाल्चेस्थित कग्यु मोलम युवा क्लबबीचको खेल निर्धारित समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट मेन्दोफोले विजयी भएको हो ।

त्यस्तै, रातमाटे युवा क्लबले घोर्मु युवा क्लबलाई २ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

फाइनल समीकरण पूरा भएसँगै आइतबार हुने उपाधि भिडन्तमा मेन्दोफोले र रातमाटेबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख तीन हजार ३३३ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित कग्यु मोलम र घोर्मु युवा क्लबले सान्त्वनास्वरूप १५ /१५ हजार रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही चार हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

यस वर्षको छैटौँ कुपा कपमा ३२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताअन्तर्गत मिनी म्याराथन पनि आइतबार नै सञ्चालन हुनेछ । मिनी म्याराथनका विजेताले २४ हजार रुपैयाँ र उपविजेताले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको समापन समारोहमा सहभागी हुन बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेल कात्तिक ८ गते कुपा आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

गत संस्करणका नतिजा