धादिङको सेमजोङमा ४१८ वर्ष पुरानो धनुष बाण प्रतियोगिता, खर्पाहिम्रुङ तामाङ बने विजेता

Avatar photo
Dhadingpost
कार्तिक ६, २०८३

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३, सेमजोङमा दशैँको टीकाको दिन आयोजना हुँदै आएको परम्परागत धनुष बाण प्रतियोगिता सम्पन्न भएको छ । यस वर्षको प्रतियोगितामा चौतारा टोलका खर्पाहिम्रुङ तामाङ प्रथम भएका छन् ।

प्रतियोगितामा सेमजोङ टोलका भरत तामाङ द्वितीय र गैरा टोलका अम्बर वाईवा तृतीय भएका छन् ।

नेत्रावती डबजोङ गाउँपालिका–३ का वडाध्यक्ष सुरेश वाईवाका अनुसार सेमजोङमा यो प्रतियोगिता विगत ४१८ वर्षदेखि हरेक वर्ष दशैँको टीकाको दिन सञ्चालन हुँदै आएको छ । प्रतियोगिता तामाङ वाईवा समुदायको ऐतिहासिक पहिचान, पुर्ख्यौली परम्परा र सांस्कृतिक सम्पदासँग जोडिएको छ ।

तामाङ वाईवा समुदायको ऐतिहासिक परम्परा

वडाध्यक्ष वाईवाका अनुसार इतिहासमा तामाङ वाईवा समुदायका पुर्खाहरू तन्त्रविद्या र धनुर्विद्यामा निपुण थिए । त्यसबेला सिकार खेल्न तथा बाह्य शत्रुबाट आफ्नो राज्यको सुरक्षा गर्न धनुष बाण प्रमुख हतियारका रूपमा प्रयोग गरिन्थ्यो ।

पुर्खाहरूले वर्षमा एकपटक सामूहिक रूपमा कुलपूजा गरी धनुष बाणलगायत अन्य हातहतियारको पूजा गर्ने परम्परा सुरु गरेका थिए । चन्द्रमाको गति र तिथिअनुसार प्रत्येक वर्ष धनुषमा लगाइने डोरी अर्थात् ‘म्यादली’ परिवर्तन गर्ने चलनसमेत रहेको बताइन्छ ।

पहिले असोज शुक्ल अष्टमीका दिन सिकार गरिएको जंगली मृगको छालाबाट धनुषको डोरी बनाउने परम्परा थियो । तर समयक्रममा राज्यको व्यवस्था र कानुनी प्रतिबन्ध परिवर्तन भएसँगै यस परम्परामा पनि परिवर्तन आएको वाईवाको भनाइ छ ।

डबजोङ दरबारको इतिहाससँग जोडिएको धनुष बाण परम्परा

समयक्रमसँगै समाज र राज्य व्यवस्था परिवर्तन हुँदै गयो । स्थानीय इतिहासअनुसार, गोर्खा राज्यको स्थापना भएपछि १६औँ शताब्दीतिर गोर्खाका राजा राम शाहले मीत लगाउने बहानामा (ह्यबेङ स्योङ) सल्यानटारस्थित काठे खोलाको बगरमा बोलाएर डबजोङ दरबारका अन्तिम तामाङ वाईवा राजाको षड्यन्त्रपूर्वक हत्या गरेका थिए ।

उक्त घटनापछि डबजोङ दरबार त्याग्न बाध्य भएका तामाङ वाईवा समुदायका पुर्खाहरू विभिन्न स्थानमा छरिएर बसोबास गर्न थाले । तर, उनीहरूले आफ्ना पिता–पुर्खादेखि चलिआएको परम्परा र सांस्कृतिक अभ्यासलाई भने निरन्तरता दिँदै आएको स्थानीय भनाइ छ ।

राज्य र बसोबासको अवस्था परिवर्तन भए पनि पुर्ख्यौली पहिचान जोगाउने उद्देश्यले धनुष बाणको पूजा तथा प्रतियोगितालाई निरन्तरता दिइएको बताइन्छ ।

राज्य गुमे पनि परम्परा जोगाउने प्रयास

स्थानीय इतिहासअनुसार गोर्खा राज्यको विस्तारका क्रममा डबजोङ दरबारका अन्तिम तामाङ वाईवा राजाको हत्या भएपछि समुदायका सदस्यहरू आफ्नो थातथलो छाडेर विभिन्न स्थानमा छरिएर बस्न बाध्य भएका थिए । त्यसपछि पनि उनीहरूले पुर्खादेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै आएको बताइन्छ ।

नेपाल एकीकरणपछि जंगली मृगको सिकारमा लगाइएको प्रतिबन्धका कारण धनुषको डोरी बनाउन मृगको छालाको सट्टा राँगाको छाला प्रयोग गर्ने चलन सुरु भएको स्थानीय भनाइ छ । उक्त परम्परा अहिले पनि कायम रहेको वाईवाले बताएका छन् ।

सेमजोङमा हरेक वर्ष दशैँको टीकाका दिन आयोजना हुने धनुष बाण प्रतियोगिताले तामाङ वाईवा समुदायको ऐतिहासिक स्मृति, सांस्कृतिक पहिचान र पुर्ख्यौली परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुर्‍याउँदै आएको छ ।