
धादिङ । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज बुधबार विजयादशमी मनाइँदै छ। आजको दिन मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको समितिले जनाएको छ । साइतमा टीका लगाउन नभ्याउनेले पनि दिनभर मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्नेछन् ।
विजयादशमीका दिन घरघरमा दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ । हजुरबा, हजुरआमा, बुबाआमा, गुरु तथा अन्य मान्यजनबाट टीका थाप्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद लिने परम्परा छ ।
दशैंले परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, आपसी सद्भाव, प्रेम र मेलमिलाप बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा घरबाट टाढा रहेका नेपालीहरू दशैंमा घर फर्किने र परिवारसँगै चाड मनाउने गर्छन् ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । नेपालका विभिन्न समुदायमा भने आफ्नै परम्परा र संस्कारअनुसार टीका लगाउने प्रचलनसमेत रहेको छ ।
दशैंले परिवार र समाजमा आपसी सद्भाव कायम गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्ने सन्देश दिने विश्वास गरिन्छ ।





















