
धादिङ । दशैँको मुखमा आएको बाढीले धादिङको उत्तरी क्षेत्रको सडक सम्पर्कमा थप संकट निम्त्याएको छ। भदौ १० गतेको बाढीले धादिङबेंसी प्रवेश गर्ने फुर्केखोला पुल बगाएकोमा आइतबार बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाटस्थित पुलसमेत बगाएपछि उत्तरी धादिङलाई जोड्ने सडक सञ्जाल प्रभावित भएको छ ।
धादिङको उत्तरी क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्न महत्वपूर्ण मानिएको फुर्केखोला पुल बगाएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत गोरखा हुँदै सल्यानटार जोडिने आरुघाटको मार्ग वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुलसमेत बाढीले बगाएको विवरणसँगै धादिङतर्फका मुख्य सडक नाकामा आवागमन अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।
दशैँ नजिकिँदै गर्दा सडक सम्पर्कमा आएको समस्याले स्थानीय नागरिकलाई थप मारमा पारेको छ। खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी, बिरामीको आवतजावत र चाडपर्वका लागि आवश्यक सामग्रीको आपूर्तिमा समस्या बढ्ने चिन्ता छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेपछि ठूलो बाढी आएको हो। आइतबार बिहान ५ः३० बजे नदी थुनिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बिहान ६ः१५ बजेदेखि पानी बग्न थालेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित रहन आग्रह गरेको छ। बाढीले नदी तटीय क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको छ भने चार जनाको अवस्था अज्ञात रहेको जनाइएको छ ।
प्राकृतिक विपत्तिका कारण पटक–पटक सडक तथा पुलमा क्षति पुग्दा धादिङको उत्तरी क्षेत्रको यातायात सम्पर्क प्रभावित हुँदै आएको छ । दशैँको मुखमा देखिएको यो समस्याले स्थानीयको दैनिक जीवनसँगै आवागमन र आपूर्ति व्यवस्थामा थप चुनौती खडा गरेको छ ।











