
धादिङ । आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद २०८३ का लागि धादिङमा १२ वटा खेलको जिल्लास्तरीय छनोट प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको पत्रअनुसार धादिङ जिल्ला खेलकुद विकास समितिले असोज २१ गते सूचना जारी गर्दै जिल्लास्तरीय छनोटका लागि आवेदन आह्वान गरेको हो ।
मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये धादिङ जिल्लाबाट १२ वटा खेलको छनोट गरिने समितिले जनाएको छ ।
धादिङमा कराते, तेक्वान्दो, एथलेटिक्स, फुटबल, भलिबल, ब्याडमिन्टन, उसु, आईटीएफ तेक्वान्दो, टेबल टेनिस, फुलकन्ट्याक्ट कराते, बुद्धिचाल र जुडोको महिला तथा पुरुषतर्फ छनोट प्रतियोगिता हुने भएको छ ।
छनोटमा सहभागी हुन इच्छुक खेलाडीहरूले समितिले तोकेको ढाँचामा आवेदन फाराम भरी २०८३ कात्तिक ९ गतेभित्र कार्यालय समयमा धादिङ जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बुझाउनुपर्नेछ । आवेदन फाराम समितिको कार्यालयबाटै उपलब्ध हुने जनाइएको छ ।

