
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि अमेरिकामा रहेका बद्री खतिवडाले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् ।
समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङबेसीमा आयोजना हुने तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा खतिवडाले अध्यक्ष पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
धादिङको गल्छी गाउँपालिका–२ स्थायी घर भएका खतिवडा हाल अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन् । उनी करिब १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । खतिवडाले व्यवस्थापनमा स्नातकोत्तर (MBA) गरेका छन् ।
खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्षसमेत हुन् । उनी धादिङ समाज अमेरिका सल्लाहकारको भूमिकामा पनि रहेका छन् । व्यवस्थापन, नेतृत्व तथा सामाजिक सेवाको अनुभवलाई आधार बनाउँदै उनले समाजको नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
अध्यक्षको जिम्मेवारी पाए शिक्षा, स्वास्थ्य, युवा, रोजगारी, कृषि तथा पर्यटन विकासका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने खतिवडाले बताएका छन् । विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकता र सहकार्यमा जोड्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने उनको प्रतिबद्धता छ ।
उनले समाजको नेतृत्वलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउने लक्ष्यसमेत अघि सारेका छन् ।
खतिवडाले आफ्नो नेतृत्वको मुख्य सन्देशका रूपमा ‘पदका लागि होइन, सेवाका लागि नेतृत्व !’ भन्ने धारणा सार्वजनिक गरेका छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजमा विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासी आबद्ध छन् । चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले खतिवडा सँगै अहिले सम्म तीन जनाले दावी गरेका छन् ।।
