
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा धादिङबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि राजन अधिकारीले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्रमार्फत विभिन्न सुझाव तथा अपेक्षा सार्वजनिक गरेका छन् ।
अधिकारीले कांग्रेसको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको आगामी विचार, नीति, संगठन, नेतृत्व र पुस्तान्तरणको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
खुला पत्रमार्फत उनले धादिङबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, जनतासँग प्रत्यक्ष जोडिएको संगठन निर्माण गर्न, नेतृत्वमा पुस्तान्तरणलाई प्राथमिकता दिन तथा पार्टीलाई समयअनुकूल बनाउने विषयलाई महाधिवेशनमा उठाउन आग्रह गरेका छन् ।
युवालाई निर्वाचनका समयमा मात्र परिचालन गर्ने प्रवृत्तिभन्दा माथि उठेर नीति निर्माण, निर्णय प्रक्रिया, संगठन सञ्चालन र नेतृत्व विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा अधिकारीले जोड दिएका छन् ।
किसान, युवा, व्यवसायी, विद्यार्थी तथा आम नागरिकका दैनिक समस्या र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्दै कांग्रेसलाई निर्वाचनको समयमा मात्र नभई हरेक समय जनताको सुख–दुःखमा साथ दिने संगठनका रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ ।
अग्रज नेताहरूको योगदान र अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता र नयाँ सोचलाई नेतृत्वसँग जोड्नुपर्ने उल्लेख गर्दै अधिकारीले सम्मानसहितको पुस्तान्तरण, अनुभवसहितको नवीनता र सहकार्यमा आधारित नेतृत्व आजको आवश्यकता भएको बताएका छन् ।
धादिङबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले १५औँ महाधिवेशनमा जिल्लाको आवाज, अपेक्षा र भावनाको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूको निर्णयले आगामी कांग्रेसको स्वरूपमा समेत प्रभाव पार्ने अधिकारीको भनाइ छ ।
उनले व्यक्तिगत आग्रह तथा समूहगत सीमाभन्दा माथि उठेर नवीन कांग्रेस, युवाको सम्मानजनक सहभागिता, जनतासँग जोडिएको संगठन, सुशासन र पारदर्शिता, सक्षम तथा जवाफदेही नेतृत्व र बलियो एवं एकताबद्ध कांग्रेस निर्माणका विषयलाई महाधिवेशनमा प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् ।
१५औँ महाधिवेशनले नेपाली कांग्रेसलाई लोकतान्त्रिक, समावेशी, जनमुखी, प्रविधिमैत्री र युवामैत्री बनाउने नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा व्यक्त गर्दै अधिकारीले धादिङबाट नवीन कांग्रेस निर्माणको सन्देश देशभर फैलाउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
