
धादिङ । ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम खरी अन्नपूर्ण ७ ए साइड फुटसल कप–२०८३ को उपाधि ज्वालामुखी गाउँपालिका–५ स्थित एकता खेलकुद क्लब खरीले जितेको छ।
खरी अन्नपूर्ण क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा एकता खेलकुद क्लबले बुढीगण्डकी युवा क्लब, मैदीलाई पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतियोगितामा कुल १५ टोलीको सहभागिता रहेको थियो ।
सुरुदेखि नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको फाइनलमा बुढीगण्डकी युवा क्लब र एकता खेलकुद क्लबबीचको खेल विशेष आकर्षण बनेको थियो । प्रतियोगितामा एकता खेलकुद क्लबका राज अधिकारी उत्कृष्ट खेलाडी घोषित भए भने सोही क्लबका जेनिश अधिकारी उत्कृष्ट गोलकिपर बने ।

प्रतियोगिताको विजेता टोलीले ६० हजार रुपैयाँ र उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रथम पुरस्कार बेलायतमा रहेका बेगबहादुर अधिकारीले प्रायोजन गरेका थिए भने द्वितीय पुरस्कारका लागि अमेरिकामा रहेका रामबाबु अधिकारीले ३० हजार रुपैयाँ सहयोग गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा एन्फाका उपाध्यक्ष दीपक खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
खेलकुद प्रतियोगितासँगै खरी अन्नपूर्ण क्लबले स्थानीयस्तरमा खेलमैदान निर्माणका लागि सहयोग संकलन अभियानसमेत सञ्चालन गर्दै आएको छ । क्लबका अध्यक्ष किसान अधिकारीका अनुसार खरीस्थित छापथोकमा चन्दा संकलन गरी करिब ७ लाख रुपैयाँ जुटाएर खेलमैदान निर्माणका लागि जग्गा खरिद गरिएको छ । उक्त जग्गा सम्याउने कामसमेत सम्पन्न गरिएको उनले बताए ।
क्लबले खेलमैदान निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो । सो क्रममा भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट प्राप्त भए पनि भवन निर्माणको काम अझै पूरा हुन नसकेको क्लबले जनाएको छ ।
खेलमैदान निर्माण तथा अपूरो भवनलाई पूर्णता दिन थप ठूलो रकम आवश्यक रहेकाले सहयोग जुटाउने उद्देश्यले समेत फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए।
“खेलमैदान बनाउन र अपूरो भवनलाई पूर्णता दिन अझै ठूलो रकम आवश्यक छ । त्यसैमा सहयोग जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ,” उनले भने ।
प्रतियोगिताको समाचार तथा विवरण भरत अधिकारीले उपलब्ध गराएका हुन् ।
