रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान : धादिङमा जगदिश खरेलसहित तीन नेता आउने

Avatar photo
Dhadingpost
अशोज १८, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत धादिङमा तीन जना सांसद तथा नेताहरू आउने भएका छन् ।

रास्वपाले असोज २० देखि २७ गतेसम्म देशव्यापी रूपमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानका क्रममा पार्टीका सांसद तथा केन्द्रीय नेताहरू विभिन्न जिल्लामा पुगेर स्थानीय नागरिक, पार्टी सदस्य तथा सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अभियानअन्तर्गत धादिङमा ललितपुर–२ बाट निर्वाचित सांसद तथा रास्वपाका प्रवक्ता जगदिश खरेल, शुशिला कार्की (पोखरेल) र राम तामाङ आउने कार्यक्रम रहेको छ ।

धादिङ आउनेमध्ये जगदिश खरेल सञ्चार क्षेत्रबाट राजनीतिमा आएका नेता हुन् ।

खरेलले जेन–जी आन्दोलनपछि बनेको सरकारमा करिब चार महिना सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । हाल उनी ललितपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सदस्य छन् ।

यसैगरी धादिङका सांसद बसुमाया तामाङ सिन्धुली, बोधनारायण श्रेष्ठ र आशिका तामाङ दोलखामा खटिने भएका छन् ।

रास्वपाले अभियानमार्फत स्थानीय तहसम्म संगठन विस्तार, नागरिकसँग प्रत्यक्ष संवाद र आगामी स्थानीय निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउने जनाएको छ। पार्टीले देशभरका ७७ जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

धादिङमा आउने नेताहरूले जिल्लाका स्थानीय तह, संगठनको अवस्था, नागरिकका समस्या तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल गर्ने बताइएको छ ।