
धादिङ । धादिङको थाक्रे गाउँपालिका–६, महादेवबेसीमा दोस्रो अन्तर वडाकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । थाक्रे गाउँपालिका वडा नं. ६ को कार्यालयले सूचना जारी गर्दै आगामी २०८३ असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।
थाक्रे–६ स्थित आग्रामोला खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले असोज २५ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगितामा सहभागी हुन ५ हजार ५०० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, द्वितीय हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताअन्तर्गत उत्कृष्ट खेलाडीलाई गोल्डन बल, उत्कृष्ट गोलरक्षकलाई गोल्डन ग्लोभ र सर्वाधिक गोलकर्तालाई गोल्डन बुट प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रत्येक टिमबाट १५ जना खेलाडी र २ जना अफिसियल गरी १७ जनाको सहभागिता रहने व्यवस्था गरिएको छ । सहभागी टिमले खेलका नियम तथा अनुशासन अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
प्रतियोगितामा सहभागिता तथा टिम दर्तासम्बन्धी थप जानकारीका लागि ९८४१९२१७७६, ९८४१७६५०१४ र ९८४५४७५४२९ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
